धनुषा । कमला नदीमाथि बनेको झोलुङ्गे पुल आज केवल फलाम र तारले बनेको संरचना मात्र होइन, हजारौँ मानिसको दैनिकी, आशा र सहज जीवनको आधार बनेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलका रूपमा चिनिएको यो संरचना धनुषा र सिराहालाई मात्र होइन, सीमावर्ती भारतीय क्षेत्रका नागरिकलाई समेत जोड्ने महत्वपूर्ण मार्ग हो । तर यही गर्वको संरचना अहिले उपेक्षा, अव्यवस्था र बेवास्ताका कारण चिन्ताको विषय बन्दै गएको छ ।
एक हजार पाँच सय ४४ मिटर लामो यो झोलुङ्गे पुल कमला नदीको वर्षौंदेखिको अवरोध पार गर्ने माध्यम बनेको छ । शिक्षा, स्वास्थ्य उपचार, कृषि उपजको बजारीकरणदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम आवतजावतसम्म यसले जनजीवन सहज बनाएको छ । विशेष गरी हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन पक्की पुल भासिएपछि यो झोलुङ्गे पुल वैकल्पिक मात्र नभई मुख्य मार्गकै रूपमा स्थापित भएको छ । दैनिक सयौँ मानिस बिहान–साँझ यही पुल भएर आवतजावत गर्छन् ।
विद्यालय जाने विद्यार्थी, बजार धाउने किसान, अस्पताल जाने बिरामी, रोजगारीमा हिँड्ने मजदुर सबैका लागि यो पुल अपरिहार्य बनेको छ। साथै, नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल हेर्न आउने आन्तरिक पर्यटक र अवलोकनकर्ताको भीडले पुल क्षेत्र सधैँ व्यस्त देखिन्छ । तर सुविधासँगै चुनौती पनि बढ्दै गएको छ । पाँच सय ४० मेट्रिक टन भार क्षमता रहेको पुलमा एकै पटक तीन हजार आठ सयभन्दा बढी पैदल यात्रु आवतजावत गर्न सक्ने प्रावधान भएपनि केवल १ दशमलव २ मिटर चौडाइका कारण जोखिम बढ्दै गएको छ ।
पैदल यात्रुका लागि निर्माण गरिएको पुलमा जथाभावी मोटरसाइकल चलाउँदा दुर्घटनाको सम्भावना बढेको छ । सुरक्षाका लागि जडान गरिएका तार चुँडिन थालेका छन्, नट–बोल्ट खुस्किँदै गएका छन् । संरचनाको मजबुतीमाथि प्रश्न उठ्न थालेको छ । तर यस्ता संकेत देखिँदा पनि नियमित मर्मत, निगरानी र व्यवस्थापनमा अपेक्षित सक्रियता देखिँदैन । अर्कोतर्फ, प्रशासनिक उपस्थिति कमजोर हुँदा पुल क्षेत्र अव्यवस्थित बन्दै गएको छ ।
अनधिकृत रूपमा पार्किङ शुल्क असुली, घुम्न आउने महिला तथा युवतीमाथि दुर्व्यवहारका गुनासा, सुरक्षा व्यवस्थाको अभाव जस्ता समस्या बढ्दै गएका छन् । यी सबैले पुलको छवि मात्र होइन, यसको दीर्घकालीन उपयोगमै नकारात्मक असर पार्ने खतरा देखिएको छ । २१ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको यो पुल तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २०८० फागुन १२ गते उद्घाटन गरिएको थियो ।
सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक, ललितपुरको प्राविधिक नेतृत्वमा निर्माण सम्पन्न गरिएको यो संरचना निर्धारित समयभन्दा छ महिना अगावै तयार गरिएको थियो । तथ्यांक र प्रविधिका हिसाबले यो पुल देशकै नमुना संरचनामध्ये एक मानिन्छ । तर संरचना बनेपछि त्यसको संरक्षण, व्यवस्थापन र सुरक्षित प्रयोग सुनिश्चित गर्नु स्थानीय सरकार र सरोकारवाला निकायको जिम्मेवारी हो । पुलको परिकल्पना गर्ने इञ्जिनीयरहरू स्वयंले समेत यसको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन् ।
हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग दुवैको विकल्प बनेको यो पुल दीर्घकालीन रूपमा सुरक्षित रहनु अत्यावश्यक छ । आज कमला नदीमाथिको झोलुङ्गे पुल विकासको प्रतीक बनेको छ । तर यदि समयमै सचेतना नअपनाउने हो भने यही प्रतीक जोखिमको संरचनामा रूपान्तरण हुन धेरै समय लाग्ने छैन । गर्वको पुललाई सुरक्षित भविष्यतर्फ डोर्याउने कि उपेक्षाको भारले कमजोर बनाउने अब यसको उत्तर स्थानीय सरकार, प्रशासन र समुदायको सामूहिक भूमिकामा निर्भर छ ।




