सप्तरी । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीमा सञ्चालित “सम्मुनति” कार्यक्रमको वार्षिक समीक्षा बैठकमा सो गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
सेभ द सप्तरीका कार्यक्रम संयोजक संजिव चौधरीले कार्यक्रम अन्तर्गत तीन वटा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने योजना रहेको जानकारी दिए । उनले अब तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकालाई समेत बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको बताए ।
चौधरीले भने, “विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकामा वडाहरूलाई बालविवाह मुक्त घोषणा गर्ने काम जारी छ । यही डिसेम्बरभित्र दुवै पालिका बालविवाह मुक्त घोषणा हुनेछन् ।”
समिक्षा बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार छिन्नमस्ता, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकासहित राजविराज नगरपालिकाका पाँच वटा वडामा सतप्रतिशत विद्यार्थी विद्यालय भर्ना, गरिबी निवारण, स्वास्थ्य सेवामा सहज पहुँच, बालविकास भवन निर्माण लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको देखिएको छ ।
यही परियोजना अन्तर्गत खडक नगरपालिका र सुरुङ्गा नगरपालिकामा सबल नेपालले, तथा हनुमाननगर कंकालिनी नगरपालिकामा जनचेतना अभियान नेपालले बालबालिकाको संरक्षण, शिक्षकहरूको क्षमता विकास, विपन्न परिवारलाई लक्षित कृषि तथा रोजगारी सिर्जना सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सेभ द चिल्ड्रेनका प्रोग्राम म्यानेजर उमेश कुमार गुप्ताले तीनवटै साझेदार संस्थाले गरेको काम सन्तोषजनक रहेको बताउँदै, स्थानीय तह र समुदायको सहकार्यले बालविवाह न्यूनीकरणमा ठोस उपलब्धि हासिल गरेको उल्लेख गरे ।
शुक्रबार सम्पन्न समीक्षा बैठकमा एक सय जनाभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहेको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।




