महोत्तरी । मटिहानी नगरपालिका ४ अन्तर्गत पर्ने सिङ्गो मझौरा गाउँको मुसहर बस्ती अझै पनि लालपुर्जाविहीन अवस्थामा रहेको छ । चार पुस्तादेखि यहीँ बसोबास गर्दै आएका स्थानीयहरू अहिले पनि आफ्नो नाममा जग्गाको स्वामित्व प्रमाण नभएको अवस्थामै जीवन बिताउन बाध्य छन् ।
स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार बस्तीमा रहेका करिब ७५ घरपरिवारमध्ये कुनै पनि परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन । उनका अनुसार पुस्तौँदेखि बसोबास गरिए पनि अहिलेसम्म जग्गाको कानुनी स्वामित्व प्राप्त हुन सकेको छैन ।
त्यसै बस्तीमा पाँचौँ पुस्ताका रूपमा बस्दै आएका २२ वर्षीय शोभेन्द्र सदाले बस्तीमा वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासहित करिब ३७० जनाको बसोबास रहेको जानकारी दिए । उनले जग्गाको स्वामित्व नहुँदा भविष्य प्रति अनिश्चितता र डर कायमै रहेको बताए ।
स्थानीय ५० वर्षीय शङ्कर सदाले हालसम्म आफूहरूले लालपुर्जा नपाएको मात्रै नभई यसको महत्व र प्रयोजनबारे समेत जानकारी नपाएको गुनासो गरे । अभाव र जोखिमपूर्ण जीवन बिताइरहेका मुसहर समुदायसँग आफू बस्ने घरबाहेक अन्य कुनै जग्गा नभएको र भएका थोरै जग्गाको पनि लालपुर्जा नरहेको वडा अध्यक्ष अब्दुल गफार राईनले बताए ।
वडाध्यक्ष राईनका अनुसार बस्तीका केही परिवारसँग एकदेखि चार धुरसम्मको सानो जग्गा भए पनि कानुनी दर्ता नहुँदा समस्या उत्पन्न भएको छ । उनले एक वर्षअघि नापी टोलीले बस्तीको जग्गा नापजाँच गरिसकेको र अब आवश्यक प्रक्रिया पूरा गरेर चाँडै लालपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे ।




