काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ८ स्थित शेरेफाँटमा फार्म हाउस सञ्चालन गर्दै आएका दुई जनाको योजनाबद्ध हत्या भएको घटनामा संलग्न एक युवक पक्राउ परेका छन् । मृतकहरू सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ घर भई हाल ललितपुर बसोबास गर्दै आएका केशवराज हायु र भोजपुरको अरुण गाउँपालिका ३ का पारुहाङ राई हुन् ।
प्रहरीका अनुसार उनीहरूसँगै फार्म हाउस सञ्चालन गर्दै आएका सिन्धुलीको सुनकोशी गाउँपालिका ४ घर भई हाल ललितपुर बस्ने २१ वर्षीय देवराज ढुंगेल (रमेश) ले सापटी रकमको विवादपछि दुवै जनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार देवराजले हायुसँग करिब १२ लाख र राईसँग ५ लाख रुपैयाँ सापटी लिएका थिए । वैदेशिक रोजगारीमा जान तयारी गरिरहेका हायुले सापटी रकम फिर्ता माग्न थालेपछि देवराजले हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार हायु मंसिर २४ गतेदेखि सम्पर्कविहीन भएका थिए । उनको खोजीका क्रममा पुस २ गते महालक्ष्मी नगरपालिका ८ स्थित फार्म हाउसको इनारमा बोरामा प्याक गरिएको शव फेला परेको थियो । उक्त शव हायुको भएको पुष्टि भएपछि घटनाले नयाँ मोड लिएको थियो ।
त्यसपछि गरिएको अनुसन्धानका क्रममा पारुहाङ राई पनि मंसिर २५ गतेदेखि हराइरहेकाे खुलेको थियो । आरोपी देवराजको बयानका आधारमा प्रहरीले पुस ७ गते भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित देउराली जंगलबाट राईको शव बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार आरोपी देवराजले आफू अमेरिका गएको भनी झुटो हल्ला फैलाउँदै लामो समय ललितपुरमै लुकेर बसेको र विभिन्न व्यक्तिबाट रकम सापटी लिने गरेको पाइएको छ । फार्म हाउस सञ्चालनका क्रममा साझेदारबीच उत्पन्न विवादले हत्या योजनामा परिणत भएको प्रहरीको निष्कर्ष छ ।
घटनामा संलग्न रहेको आरोपमा देवराज ढुंगेल पुस ४ गते ललितपुरको चागाथली क्षेत्रबाट पक्राउ परेका हुन् । उनको बयानकै आधारमा अर्का मृतकको शव फेला पारिएको प्रहरीले जनाएको छ । आरोपीको डेराबाट घटनासँग सम्बन्धित सामाग्रीसमेत बरामद गरिएको छ ।
हाल जिल्ला प्रहरी परिसर ललितपुरले देवराज ढुंगेलविरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।






