सिरहा । सिरहा नगरपालिकाले स्वीकृत दरबन्दीभन्दा बाहिर नियुक्त गरिएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सम्झौता रद्द गरेको छ । नगर कार्यपालिकाको निर्णयअनुसार उक्त व्यवस्था २०८२/०९/०१ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको हो ।
नगरपालिकाले जनाएअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०६/०५ गतेको बैठक निर्णय तथा अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त निर्देशनका आधारमा स्वीकृत दरबन्दीबाहेक कर्मचारी नियुक्त गर्न नपाइने नीतिलाई कार्यान्वयन गरिएको हो ।
यस निर्णयअनुसार सिरहा नगरपालिकाभित्र स्वीकृत दरबन्दी बाहिर अस्थायी रूपमा नियुक्त भएका, करार सेवामा कार्यरत तथा ज्यालादारीमा काम गरिरहेका सबै कर्मचारीको सेवा सम्झौता खारेज गरिएको नगरपालिकाले स्पष्ट पारेको छ । सेवा सम्झौता रद्द गरिएका कर्मचारीहरूको नामावली समेत सूचनासँगै सार्वजनिक गरिएको छ ।
नगरपालिकाद्वारा जारी सूचनामा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनु र नगर प्रमुख डा. नविन कुमार यादवको हस्ताक्षर रहेको छ । संघीय, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्नुपर्ने सरकारी नीतिअनुसार यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ ।




