सप्तरी । बालयौन दुरुपयोग सम्बन्धी मुद्दामा वारदात पश्चात् फरार रहेका दुई जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खडक नगरपालिका वडा नम्बर ८ भदिया घर भएका २८ वर्षीय राकेश चौधरी र सोही ठाउँका ३३ वर्षीय सूर्या चौधरी रहनुभएको हो ।
आर्थिक वर्ष २०८१/०८२ सालको मुद्दा नम्बर ६१ मा दर्ता भएको बालयौन दुरुपयोग मुद्दामा वारदात पश्चात् उनीहरु फरार भएका थिए । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
खडक नगरपालिका ८ भदिया टोलमा पैदल हिँडिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
यसैगरी, प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका खडक नगरपालिका वडा नम्बर ४ घर भएका मो. जमिललाई पनि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




