रौतहट । रौतहटको वृन्दावन नगरपालिका ९ भुसाहा टोलमा १८ वर्षीया तरिमा खातुनको हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत मङ्सिर ९ गते बिहान मृतक तरिमाका पिता शेख ताज महमदले छोरी केही दिनदेखि ससुराली पक्षबाट शारीरिक तथा मानसिक यातना सहनुपरेको र मङ्सिर ८ गते रातिदेखि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
उक्त सूचनापछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली ससुराली घर पुगेको थियो । त्यस क्रममा घरका परिवारका सदस्य फरार रहेको र घरभित्र शंकास्पद अवस्थाहरू देखिएपछि प्रहरीले विस्तृत खोजी थालेको थियो ।
खोज तलासका क्रममा घर कम्पाउन्डभित्र भुसको थुप्रोमुनि जमीन खोतल्दा करिब पाँच फिट गहिराइमा बोराभित्र पोको पारिएको अवस्थामा तरिमाको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका बुबाले दिएको जाहेरीका आधारमा ७५ वर्षीय ससुरा शेख महमद अलि र सहोदर दाइ शेख आसमहमदविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । मङ्सिर १० गते पक्राउ परेका दुवै अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्याँलले जानकारी दिए ।






