जनकपुर । मधेश प्रदेशका शहीद परिवारका सदस्यहरूले आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेशी शहीद प्रतिष्ठानका सदस्यहरूले सरकारबाट निरन्तर बेवास्ता भइरहेको आरोप लगाउँदै एक हप्तापछि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।
मधेशी शहीद प्रतिष्ठानका सदस्य तथा सहिद चन्दन पटेलका पिता अवदेश पटेलले शहीदको बलिदानकै कारण संघीयता आएको भए पनि शहीद परिवारलाई धोका दिने काम भइरहेको बताए । शहीदको नाममा नेता र मन्त्री बनेकाहरूले शहीद र तिनका परिवारलाई केवल आश्वासनमा अल्झाएको उनको आरोप छ ।
उनका अनुसार शहीद परिवारका लागि स्थापना गरिएको मधेशी शहीद प्रतिष्ठानका नाममा १० करोड रुपैयाँ बजेट विनियोजन गरिने भनिए पनि जम्मा २ करोड रुपैयाँ मात्र छुट्याइएको छ । उक्त बजेटबाट समेत हालसम्म कुनै ठोस काम अघि नबढेको उनले गुनासो गरे ।
शहीद परिवारलाई रोजगारी दिने नाममा केही सदस्यलाई मात्र विभिन्न मन्त्रालय र कार्यालयमा पिउनको करार जागिर दिइएको भन्दै उनले यसलाई अपमानजनक व्यवहारको संज्ञा दिए । दशैं लगायतका चाडपर्वमा सबै कर्मचारीले तलब पाउँदा पनि शहीद परिवारका सदस्यहरू तलबबाट वञ्चित भएको उनको भनाइ छ । यस प्रति मधेश प्रदेशका नेता र मन्त्रीहरूलाई लाज लाग्नुपर्ने उनले बताए ।
जनमत पार्टी नेतृत्वमा सरकार गठन भएयता पनि शहीद परिवारले दुःख मात्रै भोग्नुपरेको पटेलले बताए । अधिकांश शहीद परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै उनले खान–लाउन, औषधोपचारदेखि बालबालिकाको शिक्षा समेत धान्न नसक्ने अवस्थामा पुगेको जानकारी दिए ।
उनले नेपालभर भएका आन्दोलन—जनयुद्ध, मधेश आन्दोलन लगायतका क्रममा शहीद भएका सबै शहीद परिवारलाई एकताबद्ध गर्दै आफ्ना जायज हक अधिकार सुनिश्चित गराउन अन्तिम चरणको सशक्त आन्दोलन गर्ने चेतावनी दिए । शहीद परिवारका सदस्यहरूले जीविकोपार्जनदेखि संसदसम्म प्रतिनिधित्व र आरक्षणको व्यवस्था हुनुपर्ने माग पनि राखेका छन् ।




