महोत्तरी । सरकारी कागजात किर्ते गरी भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा इलाका प्रशासन कार्यालय रामगोपालपुरका एक कार्यालय सहयोगी पक्राउ परेका छन् ।
महोत्तरीको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा कार्यरत कार्यालय सहयोगी कृष्ण मण्डललाई सरकारी कागजात, छाप, दस्तखत तथा होलोग्रामको दुरुपयोग गरी भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार विशेष सूचनाका आधारमा मण्डललाई पक्राउ गरी घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ । पक्राउ परेका मण्डलमाथि नागरिकता वितरण प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेको छ । घटनासँग सम्बन्धित अर्का एक कार्यालय सहयोगी भने फरार रहेको जनाइएको छ ।
इलाका प्रशासन रामगोपालपुरबाट २०७६ सालमा वितरण गरिएका केही नागरिकतामा त्रुटि देखिएपछि यस विषयमा अनुसन्धान अघि बढाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईन्द्रदेव यादवले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार गृह मन्त्रालयबाट २०८२ असोज ३० गते नागरिकता वितरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउन निर्देशन आएको थियो । “म महोत्तरी आउनु अगावै यस विषयमा अनुसन्धान सुरु भइसकेको थियो । यहाँ आएपछि नागरिकता वितरणमा गम्भीर त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अनुसन्धान तीव्र पारिएको हो,” उनले भने ।
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप विवरण सार्वजनिक गरिने उनको भनाइ छ । अनुसन्धानमा संलग्न स्रोतका अनुसार किर्ते गरी बनाइएका नेपाली नागरिकताको प्रयोग गरी केही भारतीय नागरिकले नेपाली राहदानीसमेत लिई विदेश गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
नागरिकता बनाउने क्रममा इलाका प्रशासनका केही कर्मचारीहरूले ठूलो रकम संकलन गरेको आशंका समेत गरिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको र दोषी देखिए कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ ।




