सर्लाही । सर्लाहीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १ नवलपुरस्थित लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो ।
नवलपुरबाट हरिवनतर्फ गइरहेको ना ६३ प ५६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मलंगवा नगरपालिका ७ मुसैली निवासी ७० वर्षीय रामविलास महतो गम्भीर घाइते भएका थिए ।
घाइते महतोको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । दुर्घटनापछि प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी बलरा नगरपालिका १० सुदामा ब्यारेज नजिकको भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । म प्र ०३–०२९ प ३७४४ नम्बरको मोटरसाइकल सडकको बायाँपट्टि खेतमा पल्टिएको अवस्थामा फेला परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रामनगर गाउँपालिका १ निवासी ४५ वर्षीय संजय राय यादव घटनास्थलमै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । दुवै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।




