वीरगञ्ज । पर्सा जिल्लाको सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतीय सामानहरू अवैधरूपमा नेपाल भित्रिने क्रम बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । भारतको सीमावर्ती बजार भङ्गाहाबाट नेपालतर्फ महादेवपट्टि, बलुवा, सेढवा, जानकीटोला लगायतका नाकाहरू प्रयोग गरी दैनिक रूपमा ठूलो परिमाणमा तस्करी हुने गरेको उनीहरूको आरोप छ ।
स्थानीय स्रोतका अनुसार जीराभवानी गाउँपालिका १ अन्तर्गत महादेवपट्टि, बलुवा, चिनीमिल क्षेत्र हुँदै खेत, सरेह तथा कच्ची बाटो प्रयोग गरेर दैनिकी लाखौँ रुपैयाँ बराबरका भारतीय सामानहरू नेपाल भित्र्याइने गरेको छ । प्रत्यक्षदर्शीहरूले यस क्षेत्रमा हाल एक दर्जनभन्दा बढी तस्कर समूह सक्रिय रहेको बताएका छन् ।
स्थानीयको भनाइ अनुसार वीरेन्द्र साह, जितेन्द्र साह, विपिन मुखिया बिन, कृष्ण मुखिया बिन, पाशपत राउत, ध्रुव चौधरी, तारकिशोर दास, अक्षय हजरा, गणेश मुखिया, सुनील राम, सुनील साह, शेख भुवर, शेख मुस्तफा लगायतका व्यक्तिहरू तस्करीमा संलग्न रहेको आरोप लगाइएको छ । यद्यपि उनीहरूमध्ये केहीले भने आफूले अहिले तस्करीको कारोबार छाडिसकेको दाबी गरेका छन् ।
कुन–कुन सामान भित्रिन्छ ?
खुला सीमाको दुरुपयोग गर्दै तस्करहरूले सुर्तीजन्य पदार्थ, रजनीगन्धा, राजनिवास, सिगरेट, खाद्य तथा पेय पदार्थ, बिस्कुट, रेडबुल, अन्डा, चिनी, खानेतेल, इलेक्ट्रोनिक्स सामग्री (एलसिडी तथा एलइडी टेलिभिजन), निर्माण सामग्री (टायल्स, मार्बल, पेन्ट), कुखुराका चल्ला, तयारी कुखुरा, लत्ताकपडा तथा विभिन्न हार्डवेयर सामग्रीहरू भित्र्याउने गरेको स्थानीयले बताएका छन् ।
सुरक्षाको भूमिकामाथि स्थानीयको गम्भीर आरोप
तस्करी हुने मुख्य नाकाहरूमा सशस्त्र प्रहरी बल र जीराभवानी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिए पनि तस्करी नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठाएका छन् । एक स्थानीयले तस्करहरूको प्रभाव र ‘सेटिङ’ का कारण सुरक्षाकर्मीहरूले तस्करी प्रति आँखा चिम्लिने गरेको आरोप लगाए । उनका अनुसार कहिलेकाहीँ पोका बोकेको देखेपछि मात्रै सुरक्षाकर्मी पछ्याउने तर नियमित तस्करीलाई बेवास्ता गर्ने गरिएको छ ।
सुरक्षा निकायको प्रतिक्रिया
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले तस्करी नियन्त्रणमा प्रहरी पूर्ण रूपमा सक्रिय रहेको दाबी गरेका छन् । उनले भने, “विशेष सूचनाका आधारमा तस्करीका सामानहरू बरामद गरी भन्सार कार्यालयमा बुझाउने कार्यलाई तीव्र बनाइएको छ ।”
त्यस्तै सशस्त्र प्रहरी बल १३ नं गण पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले खुला सीमाका कारण केही चुनौती भए पनि सीमा सुरक्षामा कडाइ गरिएको बताए । “तस्करी सम्बन्धी सूचना प्राप्त हुने बित्तिकै टोली परिचालन गरी नियन्त्रणमा लिने गरिएको छ । वीरगञ्ज गणबाट ग्रामीण क्षेत्रको सुरक्षा अझ मजबुत बनाउन थप पहल भइरहेको छ,” उनले बताए ।




