सिराहा । बंगलादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिराहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्याली तथा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमंत सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासिंन्द्र यादवले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
प्रदर्शनका क्रममा आक्रोशित कार्यकर्ताहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्दै केही बेर चक्काजाम समेत गरेका थिए । प्रदर्शनकारीहरूले “हिन्दूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानव अधिकारको सम्मान गर” लगायतका नारा लगाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामनाथ सनातनीले भने, “बंगलादेशमा बारम्बार हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको हत्या र अत्याचार मानवतामाथिको गम्भीर प्रहार हो । अन्तर्राष्ट्रिय समुदायले यस विषयमा मौन बस्नु हुँदैन ।”
त्यस्तै केन्द्रीय सदस्य कासिंन्द्र यादवले आफ्नो मन्तव्यमा भने, “हिन्दू युवाको निर्मम हत्या केवल एक व्यक्तिको हत्या होइन, यो सम्पूर्ण मानव अधिकार र धार्मिक स्वतन्त्रतामाथिको हमला हो । बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षा गर्न असफल भएको स्पष्ट देखिन्छ ।”
प्रदर्शनको नेतृत्व गरेका जिल्ला अध्यक्ष हेमंत सिंहले भने, “हामी शान्तिपूर्ण आन्दोलनमार्फत बंगलादेश सरकारलाई अल्पसंख्यकको जीवन र सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिन चाहन्छौं । यस्ता घटनाको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।”
राष्ट्रिय एकता अभियानले बंगलादेश सरकारसँग दोषीमाथि कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न तथा मानवअधिकारको सम्मान गर्न माग गरेको छ ।






