सर्लाही । सर्लाहीका ४७ वर्षीय राम ईश्वर महतोको टाउको फेला परेको छ । शनिबार हत्या गरिएको अवस्थामा उनको घाँटीभन्दा तलको भाग भेटिए पनि टाउको फेला नपरेको अवस्थामा प्रहरीले आज घटनास्थलभन्दा सय मिटर उत्तर झाडीमा टाउको फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार आज दिउँसो करिब पौने १ बजेको समयमा टाउको फेला परेको हो ।
सागरनाथ वन विकास परियोजना सागरनाथमा चौकीदारको रुपमा काम गर्दै आएका ईश्वरपुर नगरपालिका २ राइटरखोर बस्ने महतोको शनिबार टाउको काटिएको अवस्थामा शव फेला परेको थियो ।
शनिबार बिहान ५ बजे वनमा कसैले काठ काटिरहेको छ भनि घरबाट साइकलमा निस्किएका महतो नफर्केपछि खोज तलास गर्ने क्रममा सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको बाटोदेखि करिब सय मिटर पूर्व झाडीमा टाउको बिनाको शव फेला परेको थियो ।
यस घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिको साथबाट रगतले लतपतिएको कपडा समेत बरामद गरिएको छ ।
मृतकको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






