महोत्तरी । पछिल्ला केही वर्षयता मधेश प्रदेशमा सवारी दुर्घटनाका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन् । उपलब्ध तथ्याङ्क अनुसार नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखिएको छ । यसले प्रदेशको सडक सुरक्षा अवस्था गम्भीर मोडमा पुगेको संकेत गर्दछ ।
दुर्घटनाको जोखिम उच्च भइरहँदा पनि न्यूनीकरणका लागि गरिएका प्रयासहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको सरोकारवालाहरूको गुनासो छ । कमजोर सडक संरचना, निर्माणमा हुने लापरबाही र भ्रष्टाचार, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियमको बेवास्ता तथा लागुपदार्थ र मादक पदार्थ सेवन गरी सवारी चलाउने कारण दुर्घटनाको मुख्य कारकका रूपमा देखिएका छन् ।
चालु आर्थिक वर्षको मङ्सिरसम्म देशभर १३ हजार ८८० वटा सवारी दुर्घटना भएका छन्, जसमा एक हजार ४२ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । तीमध्ये मधेश प्रदेशमा मात्रै २२० जनाको मृत्यु भएको तथ्याङ्कले प्रदेशमा दुर्घटनाको गम्भीरता उजागर गरेको छ ।
आर्थिक वर्ष ०८१र०८२ को साउनदेखि मङ्सिरसम्म मधेश प्रदेशमा दुई हजार ६७१ वटा सवारी दुर्घटना भएकोमा १९१ जनाको मृत्यु र चार हजार ५७६ जना घाइते भएका छन् । सोही अवधिमा देशभर तीन हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र पाँच हजार ६८५ जना घाइते भएको प्रहरीको तथ्याङ्क छ ।
प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । मधेश प्रदेशका आठ वटै जिल्लामा भएका दुर्घटनामा युवा वर्ग नै बढी प्रभावित भएको तथ्याङ्कले चिन्ताजनक अवस्था देखाएको छ ।
प्रदेशस्तरीय तथ्याङ्कले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू दुर्घटनामा बढी घाइते हुने र ज्यान गुमाउने गरेको देखाउँछ । यसले सडक दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू विशेष गरी युवा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएको छ ।




