काठमाडौं । ओखलढुंगामा दुई महिनाको अन्तरालमा भएका दुई छुट्टाछुट्टै लुटपाटपछि भएको हत्या घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २६ गते राति ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको हत्या भएको थियो ।
खेतीपाती गरेर जीवनयापन गर्दै आएकी एकल महिला कार्कीको घरमा लुटपाट समेत भएको थियो । छिमेकीहरूले घरबाहिर अस्वाभाविक अवस्था देखेपछि जानकारी गराएपछि घटना बाहिर आएको थियो ।
यसैबीच, गत पुस १५ गते ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका ६ भदौरेमा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको पनि हत्या भयो । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूलाई कुटपिटपछि धारिलो हतियार प्रयोग गरी ज्यान लिइएको थियो ।
घटनापछि घर तथा पसलमा रहेका नगद र सुनका गरगहना लुटिएको पाइएको थियो । एकै प्रकृतिका दुई गम्भीर घटना छोटो अवधिमा घटेपछि स्थानीयवासी त्रसित बनेका थिए । हत्यारा पहिचान हुन नसकेपछि प्रहरीले गहिरो अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा दुवै घटनामा एउटै समूह संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार चिशंखुगढी गाउँपालिका ३ का २८ वर्षीय मिलन भन्ने संगम राई, वडा नं. ४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नं. ८ का दोर्जे भनिने अशोक भुजेललाई पक्राउ गरिएको हो ।
उनीहरूलाई आइतबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कर्तव्य ज्यान, डाँका तथा हातहतियार खर खजना सम्बन्धी कसुरमा जिल्ला अदालत ओखलढुंगाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूको साथबाट घटनामा प्रयोग भएका हतियार, गोलीका खोका, मोबाइल, नगद तथा लुटिएका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले तालिम प्राप्त कुकुरको सहयोगमा अभियुक्तहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रत्नकुमारी कार्कीको हत्या घटनामा संलग्न एक अभियुक्त दोस्रो घटना भएको केही दिनपछि नै पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनमा संलग्न रहेको प्रारम्भिक बयानबाट खुलेको छ । लुटपाट गर्ने क्रममा परिचय खुल्ने डरले हत्या गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ ।






