सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकास्थित भित्री सडकबाट प्रहरीले १५ पोका गाँजासहित एक भारतीय नम्बरको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार बिहान करिब ५ बजेको समयमा लालबन्दी नगरपालिका १ जंगलटोलस्थित डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको मोटरसाइकललाई ड्युटीमा रहेका प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालक फरार हुन खोजेका थिए ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा भारतीय नम्बर प्लेट भएको बीआर ०२ पीबी २२२६ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले पछ्याएको थियो । सो क्रममा उक्त कार जंगलटोलस्थित लालबाबु महतोको घरमा ठोक्किँएर रोकिएको भएपनि चालक भने फरार हुन सफल भएको प्रहरीले जनाएको छ । कारको खान तलासी गर्दा सिट पछाडि लुकाइछिपाइ राखिएको प्लास्टिकले बेरिएको १५ पोका प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिए ।
उनका अनुसार बरामद गाँजाको तौल ६० किलोग्राम रहेको छ । प्रहरीले मोटरसाइकल चालक लालबन्दी नगरपालिका १ नवलपुर निवासी ३२ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिई कार, मोटरसाइकल र ६० किलो गाँजासहित लागूऔषध सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।






