रौतहट । धनुषाको कमला नगरपालिका स्थित सखुवा मनार गाउँमा अज्ञात समूहले मस्जिदमा तोडफोड गर्नुका साथै पवित्र कुरान जलाएको घटना प्रति आक्रोश व्यक्त गर्दै रौतहटका मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् ।
नेपाल मुस्लिम शान्ति समाजको आयोजनामा यमुनामाई गाउँपालिका स्थित बमनहर चोकमा आयोजित कार्यक्रममा मुस्लिम अगुवा तथा समुदायका सदस्यहरू भेला भई उक्त घटनाको विरोध गरेका हुन् ।
उनीहरूले मस्जिदमा भएको तोडफोड र पवित्र ग्रन्थमाथि गरिएको अपमानजनक कार्यको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रदर्शन नेपाल मुस्लिम शान्ति समाज रौतहटका जिल्ला अध्यक्ष शमी अख्तर र मुस्लिम अगुवा अनवर हासमीको संयुक्त नेतृत्वमा गरिएको थियो ।
प्रदर्शनकारीहरूले दोषीलाई तत्काल पक्राउ गर, अल्पसंख्यकमाथिको दमन बन्द गर जस्ता नाराहरू लगाएका थिए । आयोजकका अनुसार सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाइने र साँझ थप शान्तिपूर्ण प्रदर्शन कार्यक्रम तय गरिएको छ ।
मुस्लिम अगुवा अनवर हासमीले मस्जिदमा तोडफोड गर्नु र पवित्र ग्रन्थ कुरान जलाउनु गम्भीर तथा निन्दनीय अपराध भएको उल्लेख गर्दै दोषीलाई अविलम्ब पक्राउ गरी कडा कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् ।




