सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका कार्यालय सहायक अरुण कुमार यादव र तत्कालीन गाविस सचिव राम प्रकाश सिंह दनुवारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योग्यता नपुगेका व्यक्तिलाई नक्कली स्थायी नियुक्ति पत्र बनाएर सरकारी कोषबाट तलब भत्ता खुवाएको भन्दै अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा यादवले आफ्नो उमेर १८ वर्ष नपुग्दै २०६४ सालमै अस्थायी नियुक्ति पाएको भनी सरकारी कागजातमा केरमेट र थपघट गरेको फेला परेको छ । यादवको जन्म मिति २०४७ असोज ५ गते रहेको र २०६४ असोज मसान्तसम्म उनको उमेर १७ वर्ष २५ दिन मात्र पुगेको अख्तियारले जनाएको छ ।
नागरिकता नै नबनेको समयमा नियुक्ति लिएको भनी झुट्टा विवरण पेस गरेर उनले आर्थिक वर्ष २०७८/०७९ देखि स्थायी नियुक्ति लिएका थिए । यसअघि २०७३ सालदेखि करारमा कार्यरत रहेका यादवले करार रद्द भएपछि पुरानै मितिमा स्थायी नियुक्ति पाएको देखाउन तत्कालीन सचिव दनुवारसँग मिलेमतो गरेको पुष्टि भएको छ ।
हरिपूर्वा गाविसको लेटर प्याड प्रयोग गरी २०७१ भदौ ३१ गते तयार पारिएको भनिएको स्थायी नियुक्ति पत्र नक्कली भएको र सोको कुनै पनि आधिकारिक अभिलेख निजामती किताबखाना वा कर्मचारी सञ्चय कोषमा नरहेको अनुसन्धानबाट खुलेको छ ।
सरकारी लिखतको दुरुपयोग गरी राष्ट्रसेवकको पदमा गैरकानुनी रुपमा नियुक्ति लिई तलब, भत्ता र सञ्चय कोषको सुविधा लिएर राज्यलाई नोक्सानी पुर्याएको भन्दै अख्तियारले दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरेको छ ।






