रौतहट । रौतहटको गढीमाई नगरपालिकामा बुधबार एक्कासि भुस्याहा कुकुरले आक्रमण गर्दा ५० जना घाइते भएका छन् । कुकुरको टोकाइबाट घाइते भएकामध्ये अधिकांश बालबालिका, महिला तथा वृद्धवृद्धा रहेका छन् ।
प्रादेशिक अस्पताल गौरका अनुसार कुकुरको टोकाइबाट घाइते ३२ जना उपचारका लागि अस्पताल पुगेका थिए । तीमध्ये २७ जनालाई रेबिजविरुद्धको खोप (भ्याक्सिन) दिइएको छ भने गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको अस्पतालका सूचना अधिकारी कपिलदेव झाले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ । साथै आवश्यक औषधि, रेबिजविरुद्धको खोप तथा चिकित्सकीय सेवा पर्याप्त मात्रामा उपलब्ध गराइएको छ । अन्य घाइतेहरू उपचारका लागि भोलि अस्पताल आउने सम्भावना रहेको उनले बताए ।
बिहान गढीमाई नगरपालिका १, ४, ६ र ८ नम्बर वडामा बसोबास गर्ने सर्वसाधारणमाथि एक्कासि कुकुरको आक्रमण भएको हो । ती वडाहरूमा आफन्तको घर आएका फतुवा विजयपुर र राजपुर नगरपालिकाका केही नागरिक समेत कुकुरको टोकाइबाट घाइते भएका छन् ।
कुकुरको आक्रमण बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । बिहान बेलुका आवतजावत गर्न कठिनाइ भइरहेको तथा बालबालिकालाई विद्यालय पठाउन र वृद्धवृद्धालाई घर बाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाले खुला रूपमा छाडिएका तथा आक्रामक कुकुरका कारण यस्तो अवस्था आएको भन्दै कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित स्थानीय तह, प्रशासन र सरोकारवाला निकायसँग माग गरेका छन् ।




