काठमाडौं । बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट व्यापक रूपमा चोरी–तस्करी भइरहेको सूचनाहरू प्राप्त भएका छन् । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको डीएसपी कमाण्डमा गुल्म स्थापना गरिएको भए पनि, यही गुल्म मातहतका नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान तस्करी भइरहेको स्रोतहरूले दाबी गरेका छन् ।
गुल्मको नेतृत्व सशस्त्र प्रहरी बलका डीएसपी दिपेन्द्र गौलीले गर्दै आएका छन् । गुल्म मातहत ६ वटा बिओपी तथा केही फरवार्ड बेस सञ्चालनमा छन् । कण्डपुरस्थित गुल्म मातहत फुटाहा, सानुडाँफे, जमुनी, गणेशपुर, कालाबन्जरा र कट्टी लगायतका बिओपी तथा फरवार्ड बेस रहेका छन् ।
यीमध्ये जमुनी, कालाबन्जरा र कट्टी बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड र फुटाहा, सानुडाँफे र गणेशपुर बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा सुरक्षा फौज परिचालित छ ।
गुल्मको क्षेत्राधिकार अन्तर्गत पर्ने भारतीय सीमावर्ती क्षेत्रमा फुटाहा र लोकाही बजार पर्दछन् । यी बजारहरू भारततर्फका ठूला व्यापारिक केन्द्रका रूपमा चिनिन्छन् । दैनिक उपभोग्य वस्तु, कपडा, किराना, इलेक्ट्रोनिक्स तथा अन्य करयोग्य सामग्रीहरू यही बजारबाट नेपालतर्फ अवैध रूपमा भित्रिने गरेको स्रोतले जनाएको छ ।
स्थानीयहरूको अनुसार, तस्करीमा संलग्न हुनेहरूमा बाँकेको कोहलपुर र बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रका व्यापारी र कारोबारीहरूको संलग्नता बढी रहेको बताइन्छ ।
भारतबाट ल्याइएका सामानहरू फुटाहा–गणेशपुर हुँदै मैनापोखर र बाँसगढी निस्किएर महेन्द्र राजमार्गमा जोडिने गरेको जनाइएको छ । यही मार्ग तस्करहरूले सुरक्षित मार्गको रूपमा प्रयोग गर्ने गरेको आरोप लगाइएको छ ।
सशस्त्र प्रहरी बलका असई सोम शर्माको नाम यस मामिलामा विशेष रूपमा चर्चामा आएको छ । स्रोतका अनुसार, गुल्म प्रमुख डीएसपी दिपेन्द्र गौलीले असई शर्मालाई घुमुवा प्रहरीको रूपमा परिचालन गरेका छन् ।
असई सोम शर्मा यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन् । उनी विगत धेरै वर्षदेखि बाँके जिल्लामा सशस्त्र प्रहरी बलको गणमा कार्यरत छन् । सो अवधिमा उनी सशस्त्र प्रहरी गणका एसपीका घुमुवा र पछि बिओपी जैसपुरमा कार्यरत रहँदै डिआइजीका घुमुवाका रूपमा परिचालित थिए ।
बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट भइरहेको भनिएको तस्करी, त्यसमा सशस्त्र प्रहरी गुल्मका अधिकारी र घुमुवा प्रहरीको भूमिका बारे उठेका आरोपले सीमा सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।






