इटहरी । सामान्य घरायसी विवादले उग्र रूप लिँदा इटहरीमा ज्वाइँले सासूको हत्या गरेका छन् । भोजपुरको दिङ्ला नगरपालिका ८ घर भएकी ५६ वर्षीया पविमाया वयलकोटी उपचारका लागि करिब एक सातादेखि इटहरी उप–महानगरपालिका ९ स्थित बीपी चोकमा बस्दै आएकी थिइन् । उनी छोरीज्वाइँकोमा बस्दै आएकी थिइन् ।
सोही क्रममा आइतबार राति ८:१५ बजेतिर वयलकोटी र उनका ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो । मोरङको बेलबारी नगरपालिका ७ स्थायी घर भई हाल सुनसरीको इटहरी ९ बीपी चोकमा बस्दै आएका गुप्ताबीच सामान्य विवादका क्रममा उनले सासूलाई पानी तान्ने ट्युवेलको हेण्डल प्रयोग गरी आफ्नै टाउकोमा प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार घटनामा गम्भीर घाइते भएकी वयलकोटीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा राति करिब ८:४५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि गुप्ता फरार रहेका थिए । उनलाई खोजतलास गर्ने क्रममा इटहरी उप–महानगरपालिका ९ अन्तर्गत विराटनगर लाइन क्षेत्रबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






