जनकपुरधाम । मिथिलाको धार्मिक, सांस्कृतिक र प्रशासनिक केन्द्र मानिने जनकपुरधाम आज गम्भीर खानेपानी संकटको सामना गरिरहेको छ । सहर विस्तारसँगै जनसंख्या बढ्दै गएपनि खानेपानी आपूर्ति प्रणाली समय अनुसार आधुनिकीकरण हुन नसक्दा यहाँका करिब ८० प्रतिशत परिवार अझै सुरक्षित खानेपानीको पहुँचबाहिर छन् ।
दैनिक करिब दुई करोड ५० लाख लिटर पानीको माग रहेको जनकपुरधाममा खानेपानी संस्थानले करिब ३५ लाख लिटर पानी मात्र आपूर्ति गरिरहेको छ । त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ । हाल संस्थानले नगर क्षेत्रका केवल २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जनकपुरधाममा ४० हजार ४०९ परिवार बसोबास गर्छन् । तर तीमध्ये जम्मा पाँच हजार घरमा मात्रै धारा जडान भई मिटर राखिएको छ । खानेपानी संस्थान जनकपुरधाम कार्यालयका प्रमुख विष्णुदेव साहका अनुसार तीमध्ये पनि करिब ४० प्रतिशत घरमा आंशिक रूपमा मात्र पानी आउने गरेको छ ।
हाल वडा नं १० र रामानन्द चोकमा रहेका दुई वटा ओभरहेड ट्याङ्कीमार्फत पानी वितरण भइरहेको छ । चार लाख ५० हजार लिटर क्षमताका ती ट्याङ्कीमा छ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानी प्रशोधन गरी वितरण गरिन्छ । तर समस्या ट्याङ्कीभन्दा बढी वितरण प्रणालीमै देखिन्छ ।
जनकपुरधामको अधिकांश पाइपलाइन करिब ३४ वर्ष पुरानो छ । समयसँगै ती पाइप चर्किने, फुट्ने र जीर्ण हुँदै गएपछि पानी चुहावट व्यापक भएको छ । “पुरानो पाइपकै कारण नियमित रूपमा जम्मा ५० प्रतिशत मात्र पानी आपूर्ति गर्न सकिएको छ,” प्रमुख साह स्वीकार्छन् । सीमित बजेटका कारण सबै वडामा नयाँ पाइप विस्तार गर्न नसकिएको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा केही सुधारका प्रयास भने भएका छन् । कार्यालय परिसरभित्र एक करोड ३० लाख रुपैयाँको लागतमा पाँच लाख लिटर क्षमताको थप ट्याङ्की निर्माण गरिएको छ । साथै, चार करोड रुपैयाँभन्दा बढी लगानीमा मुजेलिया प्रहरी चौकीदेखि वडा नं ८ स्थित होटल सियाशरणसम्म सडकको दायाँ–बायाँ आठ–आठ इन्चको पाइप बिछ्याइएको छ । सीमित स्रोत साधनका बाबजुद त्यहाँबाट पानी भण्डारण र धारा जडानको काम भइरहेको साहले जानकारी दिए ।
तर यी प्रयास पर्याप्त देखिँदैनन् । पटक–पटक हुने विद्युत् अवरोधले पानी पम्पिङ र वितरणमा थप समस्या सिर्जना गरेको छ । कार्यालयका कर्मचारीहरूका अनुसार विद्युत् नहुँदा ट्याङ्की भर्न र पानी वितरण गर्नै नसकिने अवस्था आउँछ ।
यसै कारण जनकपुरधामका अधिकांश परिवार चापाकल र निजी मोटरमा निर्भर छन् । कतिपय टोलमा बिहान सबेरै चापाकलमा लाम लाग्नु यहाँको दैनिकी बनेको छ । सुरक्षित र नियमित खानेपानी सहरका बासिन्दाका लागि अझै सपना जस्तै बनेको छ ।
धार्मिक नगरी जनकपुरधाममा खानेपानी संकट केवल पूर्वाधारको समस्या मात्र होइन, यो बढ्दो सहर, योजनाविहीन विस्तार र दीर्घकालीन लगानीको अभावको परिणाम पनि हो । अब प्रश्न उस्तै छ- सहर बढ्दै जाँदा जनकपुरधामको पानीको धारा कहिले सबै घरमा बग्ला ?




