सर्लाही । सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी नयाँरोड सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा जिल्लाको बरहथवा नगरपालिका ४ निवासी अन्दाजी ३० वर्षीय अनिल महतो रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ । बरहथवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
गिट्टी बोकेको १५८ नम्बरको टिपरले विपरित दिशाबाट उखु बोकेर आउँदै गरेको ट्याक्टरलाई विहान करिव ८ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
टिपर मधेश प्रदेशका प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहका दाई सुरेन्द्र सिंहको क्रसर उद्योगको रहेको पाइएको छ भने दुर्घटनामा टिपर चालक सर्लाहीको बसबरिया गाउँपालिका ३ निवासी सन्तोष कुमार सिंह सामान्य घाइते भएका छन् ।
उनलाई उपचारका लागि उनका आफन्तले नै अस्पताल लगेको इलाका प्रहरी कार्यालय हिरापुरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




