रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै रौतहटमा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु भएसँगै आवेदन फारम भर्ने युवाको उल्लेख्य भीड देखिन थालेको छ ।
जिल्लामा सार्वजनिक गरिएको सूचनाअनुसार म्यादी प्रहरीका लागि ठूलो संख्यामा युवाहरू आकर्षित भएपछि रौतहटमा विद्यमान बेरोजगारीको अवस्था झनै स्पष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यस निर्वाचनका लागि जिल्लामा कूल ३ हजार ८ सय ५१ जना म्यादी प्रहरी आवश्यक छन् । तीमध्ये नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ ३ सय ८५ जना भर्ना गरिने सूचना अधिकारी एवं डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए ।
आवेदन प्रक्रियामा अनावश्यक भीडभाड नहोस् र सबैलाई सहज होस् भन्ने उद्देश्यले जिल्लाका चार स्थानबाट फारम संकलन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट दरखास्त फारम बुझाउन सकिने डीएसपी बस्यालले बताए ।
म्यादी प्रहरीका लागि दरखास्त फारम माघ १ गतेसम्म (सार्वजनिक बिदाका दिन समेत) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिएका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । योग्यताका हिसाबले उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।
नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने मापदण्ड तोकिएको छ ।
साथै आतंककारी वा विध्वंसात्मक संगठनसँग आबद्ध नरहेको हुनुपर्ने शर्त पनि राखिएको छ । शारीरिक मापदण्ड अनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल ४२ केजी र गर्भवती नभएको हुनुपर्नेछ ।
नेपाल प्रहरीका अनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा कार्य गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई छनोटमा विशेष प्राथमिकता दिइनेछ ।
भर्ना प्रक्रिया अन्तर्गत माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन हुनेछ । छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते सार्वजनिक गरिने जनाइएको छ ।
नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीको सेवा अवधि नियुक्ति भएको मितिदेखि जम्मा ४० दिन रहनेछ । सेवा अवधिभर प्रतिदिन नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल बराबरको पारिश्रमिक उपलब्ध गराइनेछ । यसका अतिरिक्त खाना खर्च, तयारी खर्च र खाजा खर्च समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
छोटो अवधिको रोजगारी भएपनि म्यादी प्रहरी भर्नामा देखिएको उत्साहले रौतहटमा रोजगारीको अभाव र युवाहरूको आशा आकांक्षा दुवैलाई एकैसाथ उजागर गरेको छ ।




