रौतहट । ट्राफिक प्रहरीले काट्ने जरिवानाको रसिद नक्कली बनाएर सवारी चलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । यो घटनालाई राजमार्ग क्षेत्रमा सम्भवत: पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ साढे सात बजेतिर अस्थायी ट्राफिक प्रहरी पोस्ट बागमतीमा गरिएको संयुक्त चेकजाँचका क्रममा बा.प्र. ०१–०२६ च ४८१७ नम्बरको बोलेरो गाडी शंकास्पद लागेपछि रोकिएको थियो ।
जाँचका क्रममा चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीबाट जारी भएको भनिएको २४ घण्टे ओभरलोड जरिवाना रसिद देखाएका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त रसिद फोटोसपमार्फत नक्कली बनाइएको खुल्यो ।
सो सम्बन्धमा बोलेरो चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका ४ का २७ वर्षीय दिलीप महतो र गाडीमा सवार वडा नं. १० का ३२ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रूपालाबुङका अनुसार आइतबार सार्वजनिक बिदा भएकाले उनीहरूको म्याद थप हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानले दुवै जनाले ओभरलोडको जरिवाना तिरेको देखाएर नक्कली रसिद ट्राफिक प्रहरीलाई प्रस्तुत गरेको खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापाले नक्कली रसिदमा उल्लिखित प्रहरी तीन महिनाअघि नै सरुवा भइसकेको जानकारी दिए । यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले यस घटनालाई गम्भीर अपराधको रूपमा लिएको र सरकारी कागजात किर्ते सम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको जनाएको छ ।




