काठमाडौं । पानीपुरीमा पिसाब मिसाइएको भिडियाे यतिबेला सामाजिक सञ्जालतिर भाइरल भइरहेकाे छ । उक्त भिडियाे सार्वजनिक भएलगतै नेपालका पानीपुरी पारखीहरू पनि घिनाउन थालेका छन्, उक्त भिडियाे हेर्नेले पानीपुरी खान मन गरेकाे खासै पाइँदैन ।
यद्यपी उक्त घटना नेपालकाे भने हाेइन, भारतकाे आसामस्थित गुवाहाटी क्षेत्रको हो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीकाे लागि प्रयाेग हुने झाेल (पानी) मा मिसाइरहेकाे देख्न सकिन्छ ।
उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिसाब मिसाइरहेको भिडियो अमर ज्योति नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो ।
त्यसाे त पानीपुरी स्वास्थ्यका लागि हानिकारक मानिन्छ । स्वस्थ तरिकाले बनाएर खान जानेनौँ भने पानीपुरी र चटपटेले ज्यानै पनि लिन सक्ने पाेषणविदहरू बताउँछन् । तर यो खाँदैमा स्वास्थ्यमा असर गर्छ भन्नु भ्रम हो ।
पानीपुरी चटपटेमा मिसाइने (भेनेगर) एसिड, जसलाई पानीपुरी र चटपटे बनाउँदा अमिलोको रुपमा प्रयोग गरिन्छ, यसले स्वास्थ्यमा गम्भीर असर गर्ने पोषणविकाे भनाइ छ । घरमै स्वच्छ र सफा तरिकाले बनाएर खाने हो भने पानीपुरी र चटपटेले कुनै असर गर्दैन । अमिलो पिरो खानेबित्तिकै स्वास्थ्यमा असर गर्छ भन्ने हुँदैन, तर काठमाडौँको वातावरण र खानाको क्वालिटी हेर्ने हो भने पानीपुरी, चटपटे होस् अन्य खाना, केही पनि खान लायकको नभएकाे पाेषणविदकाे भनाइ छ ।
पाेषणविदका अनुसार यस्ता विषादीयुक्त र दुषित खानेकुराले सामान्यदेखि जटिल रोगहरुको संक्रमण हुन सक्छ । सरसफाइ मेन्टेन नगरी बनाइएका यस्ता दुषित खानेकुराले झाडापखाला, टाउको दुख्ने, रुघा खोकी, घाँटी दुख्ने, टन्सिल, पाचन प्रक्रियामा समस्या आउने, एसिडिटी बढाउने, आन्द्रामा घाउ हुने, पेट दुख्ने लगायत ज्यानै समेत लिन सक्छ । प्राकृतिक अमिलो जस्तै सुन्तला, भोगटे, कागती आदिमा भिटामिन सी प्रशस्त पाइने हुनाले यसले भने स्वास्थ्यमा असर गर्दैन ।
चटपटेमा अखाध्य रङको प्रयोग, अजिनोमोटो, अनावश्यक मरमसला प्रयोग गरिएको हुन्छ, जसले हाम्रो शरिरको न्युक्लियसलाई खियाउँछ र कमजोर बनाउँछ, रोगसँग लड्ने क्षमता नष्ट गरिदिन्छ । केही समयअघि पानीपुरीमा हार्पिक समेत मिसाइएको पाइएको थियो ।




