सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले साहलाई दोषी ठहर गर्ने फैसला गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार साहलाई दोषी ठहर गर्दै अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख रुपैयाँ जरिवाना र साेही उपदफाकाे (ख) बमोजिम ६ महिना कैद सजाय सुनाएको छ ।
अख्तियारको टोलीले साहलाई गत असार ३२ मा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो । साहले कल्याणपुर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग घुस लिएका थिए ।
सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस स्वरुप लिएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । यसै प्रकरणमा बयान फेरेको भन्दै मंसिर २६ मा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोधा कुमारीमाथि पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर, जसोधाले भने सफाइ पाएकी छन् ।
जसोधाले प्रतिकूल हुने बयान दिएपनि मिसिलमा संलग्न विभिन्न प्रमाणबाट साहले घुस लिई भ्रष्टाचार गरेको विषय ठहर भइसकेकोले जसोधाले सफाइ पाउने ठहर्ने अदालतको फैसलामा उल्लेख छ ।






