सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका ५ स्थित एसबिआई बैंकको शाखामा लुटपाट भएको छ । मंगलबार साँझ करिब ७:३० बजेतिर अज्ञात समूहले बैंकमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार पहिचान खुल्न नदिन नकाब लगाएर आएका ५ देखि ६ जनाको समूहले बैंकको सुरक्षा गार्डमाथि कुटपिट गरी ठूलो परिमाणमा नगद लुटेर फरार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार काभ्रेको बनेपाबाट आएको उक्त नकाबधारी समूहले बैंकबाट ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले लुटपाटमा प्रयोग गरिएको टाटा सुमो गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । साथै, लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको एसपी सुवेदीले जानकारी दिए ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा बाँकी रकम बरामद गर्नका लागि व्यापक खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । साथै, लुटपाटबाट भएको वास्तविक क्षति विवरण संकलन र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।






