सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अमानवीय व्यवहार भएको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय समाजमा ठूलो चासो उत्पन्न भएको छ । घटनामा संलग्न सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीसहितका चार जना अझै फरार रहेका छन् ।
घटनाको विवरण अनुसार, गत मंसिर २४ मा बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ ऋणीसँग सम्वाद गर्न सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिमा पुगेका थिए । प्रालिका सेयरधनी सञ्जीवकुमार चौधरीकी पत्नीसमेत रहेकी उपमेयर चौधरीसहितका व्यक्तिहरूले बैंककर्मीहरूलाई मोसो दलेर जुत्ताको माला लगाइ कुटपिट गरेका थिए ।
अमानवीय व्यवहार र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बैंकले तुरुन्तै जाहेरी दर्ता गरेको थियो । त्यसपछि, मंसिर २५ मा उपप्रमुख चौधरीका श्रीमान् ५२ वर्षीय सञ्जीवकुमार र अग्निसाइर कृष्णसवरण गाउँपालिका १ का ४७ वर्षीय उमाकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सप्तरी जिल्ला अदालतमा गत शुक्रबार पेस गरिएका दुवै आरोपीले २५/२५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । तर, उपप्रमुख रिताकुमारी चौधरीसहितका उनका छोरा सिरजकुमार तथा सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी अझै फरार रहेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार फरार अन्य आरोपितको खोजी कार्य तीव्र रूपमा जारी रहेको छ ।
घटनाले बैंककर्मीहरूको सुरक्षा सम्बन्धी चिन्ता मात्र बढाएको छैन, स्थानीय प्रशासन र सार्वजनिक पदमा रहेकाहरूको उत्तरदायित्व प्रति पनि प्रश्न खडा गरेको छ । यस घटनाले सामाजिक सञ्जालमा व्यापक आलोचना ल्याएको छ र न्यायिक प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा सर्वसाधारणको ध्यान केन्द्रित भएको छ ।




