सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनकौल गाउँपालिका ५ हरकठवा गोठमा ना ४ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतो गम्भीर घाइते भएकी थिइन् ।
शुक्रबार साँझ बाटोमा हिँडिरहेका बेला भएको दुर्घटनापछि घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरीले जनाएको छ ।
बालिकाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवाको नियन्त्रणमा रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी सरोज राईले जानकारी दिए ।




