काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका ११ आश्रम चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको ग प्र०४-००१ प ९१०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक रुकुम जिल्लाको मुसिकोट नगरपालिका ८ घर भई हाल देवचुली नगरपालिका ९ मा मामा घर बस्दै आएका २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा स्कुटर पछाडि सवार देवचुली नगरपालिका ८ निवासी २१ वर्षीय नारायण परियार घाइते भएका छन् र उनको उपचार भइरहेको छ । ठक्कर दिने पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






