रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुल शनिबार साँझ एक घातक दुर्घटनाको साक्षी बन्यो । गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत पर्ने उक्त पुलबाट मोटरसाइकल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को सिमानामा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ करिब साढे पाँच बजेतिर अनियन्त्रित भएर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउने व्यक्ति भारतको बिहार राज्यस्थित शिवहर जिल्लाको पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको खुलेको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि घटनास्थलमा भेटिएको मोबाइल फोनमा परिवारजनबाट आएका फोनका आधारमा मृतकको पहिचान पुष्टि गरिएको हो । सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति, महनपुर गाउँकै राजेश पासवान गम्भीर घाइते भएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जनाले मदिरा सेवन गरेको र अत्यधिक तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको झोलाबाट ‘गोल्डेन ओके’ नामक मदिरा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते राजेश पासवानको प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय गंगापिपरामा राखिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।
स्थानीय बासिन्दाका अनुसार कछुअवा पुल क्षेत्रमा तीव्र गति र मदिरा सेवन गरेर सवारी साधन चलाउने प्रवृत्ति बढ्दै गएको छ । पछिल्ला यस्ता घटनाले सडक सुरक्षा र सवारी अनुशासन प्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता झन् बलियो बनाएको छ ।




