रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले पुस महिनामा जिल्लाभर सम्पन्न भएका शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार यो महिनामा मात्र विभिन्न प्रकृतिका ८३ वटा मुद्दा दर्ता भएका छन् ।
जिप्रका, रौतहटका अनुसार पुस महिनामा सवारी दुर्घटनाका ७६ घटना भएकामा चार जनाको मृत्यु भएको तथा ११९ जना घाइते भएका छन् । दुर्घटनाका मुख्य कारणमा चालकको लापरवाही प्रमुख रहेको जिप्रका, रौतहटले जनाएको छ ।
सवारी कारवाही अन्तर्गत एक हजार १०५ जना सवारी चालक कारवाहीमा परेका थिए र रु १२ लाख ६० हजार जरिवाना सङ्कलन गरिएको छ । यसैगरी, लागूऔषध सम्बन्धमा एउटा मुद्दा दर्ता भएको र दुई जनालाई पक्राउ गरिएको जिप्रका, रौतहटले जनाएको छ ।
पशुपक्षीको अवैध ओसार पोसार नियन्त्रण क्रममा दुई वटा सवारी साधन नियन्त्रणमा लिएर ३९० किलो माछा बरामद गरिएको र यसबाट एक लाख ३९ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिप्रका, रौतहटले जनाएको छ ।
वन पैदावर चोरी निकासी नियन्त्रणतर्फ २५ क्युविक फिट काठ बरामद गरिएको र सोबाट एक लाख ६२ हजार जरिवाना असुल गरिएको छ । यसैगरी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण क्रममा अवैध र वैध गरी लाखौं मूल्य बराबरका सामान बरामद गरिएको सो कार्यालयले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक संरक्षणतर्फ पुस महिनामा ४७ वटा उजूरी दर्ता भएकामा घरेलु हिंसा सम्बन्धी उजूरी विभिन्न स्थानीय तहबाट प्राप्त भएको जिप्रका, रौतहटले जनाएको छ । उजूरीमध्ये अधिकांश मेलमिलापमार्फत समाधान गरिएको जनाइएको छ ।
विपद् व्यवस्थापनतर्फ पुस महिनामा २३ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट ४३ लाख ५५ हजार रुपैयाँभन्दा बढीका धनमाल क्षति भएको छ । शान्ति सुरक्षा कायम गर्न प्रहरीले पुस महिनामा नियमित गस्ती, चेकजाँच तथा विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
नागरिक सेवा प्रवाहतर्फ २३५ जना सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरिएको र प्रहरी कार्यालयको हटलाइन तथा डेस्कमार्फत नागरिकका गुनासा सम्बोधन गरिएको जिप्रका, रौतहटले जनाएको छ ।




