सप्तरी । लहान नगरपालिका १ मटियर्वा (कटियर्वा) क्षेत्रमा पछिल्लो दुई महिनामा अत्यधिक मदिरा सेवन र चिसोको संयुक्त असरले सात जनाको ज्यान गएको छ । मृतक सबै ४० वर्षभन्दा कम उमेरका युवक तथा पुरुष रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
एकपछि अर्को गरी भइरहेका यस्ता मृत्युले मुसहर बस्तीमा शोक मात्र होइन, गहिरो असुरक्षा र भविष्य प्रतिको भय फैलिएको छ । स्थानीयका अनुसार मृत्यु हुनेहरूमा युवक तथा पुरुषहरु रहेका छन् ।
मृत्यु हुनेहरुमा २७ वर्षीय जितेन्द्र सदाय, २७ वर्षीय सञ्जय सदाय, ३० वर्षीय नथुनी सदाय, ५५ वर्षीय कलरु सदाय, ४० वर्षीय नन्दा सदाय, ४० वर्षीय चैती सदाय र ५५ वर्षीय पतिराम सदाय छन् । यी सबैको मृत्यु चिसो मौसममा अत्यधिक मदिरा सेवन गरेपछि भएको जनाइएको छ ।
पुस २५ गते राति करिब ९ बजे २७ वर्षीय जितेन्द्र सदायको मृत्यु भएपछि मटियर्वा बस्तीमा त्रास झन् गहिरिएको छ । उनका पछाडि १ वर्षीया छोरी आरोसी र पत्नी इन्दु सदाय छन् । “अब यी आमाछोरीको भविष्य कसले हेर्छ रु” भन्ने प्रश्न स्थानीयको साझा पीडा बनेको छ ।
स्थानीय महिलाहरूका अनुसार अधिकांश परिवारसँग आफ्नै जग्गा छैन, नियमित आम्दानीको स्रोत छैन । चिसो मौसममा न्यानो लुगाको अभाव र त्यसैबीच बढ्दो मदिरा सेवनले युवकहरू अकालमै ज्यान गुमाइरहेका छन् ।
मृत्यु पश्चात लहान नगरपालिकाले चामल, दाउरा र नगद सहयोग उपलब्ध गराएको भएपनि समस्या समाधानतर्फ ध्यान नदिएको स्थानीयहरुले बताएका छन् । मटियर्वा बस्तीमा अहिले प्रश्न एउटा मात्र छ- कति मृत्यु भएपछि राज्यले यस मौन संकटलाई गम्भीरतापूर्वक लिर्छ ?




