जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरुले मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही ३ का रास्वपा कार्यकर्ताहरुले धर्ना दिएर विरोध प्रदर्शन गरेका हुन् ।
रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिएको भन्दै उनीहरूले विरोध गरेका छन् । धर्नामा बसेका कार्यकर्ताको कुरा नै नसुन्नी सभापति लामिछाने होटेलबाट बाहिरिएका छन् ।
विरोध प्रदर्शनमा उत्रेका सर्लाही ३ रास्वपाका कार्यकर्ता दिपक महतोसहित चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ । उनीहरूले डाक्टर सिंह नेपाली कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डका’ कार्यकर्ता रहेको आरोप लगाएका छन् ।
डाक्टर सिंहले सभापति लामिछानेलाई आर्थिक प्रभावमा पारेर पार्टीभित्र चलखेल गरेको आरोप समेत लगाएका छन् । होटेलको मूल ढोकामा विरोध गरिरहेका कार्यकर्तालाई रास्वपाका प्रवक्ता मनिष झाले टेलिफोन गरेर सम्झाउन खोजेपनि उनीहरूले कुनै हालतमा सर्लाहीमा अमरेशलाई स्वीकार नगर्ने जवाफ दिएका थिए ।




