बारा । निजगढ नगरपालिकाका दुई कर्मचारीले निर्माण व्यवसायीबाट ६ लाख रुपैयाँ घूस लिएको आरोप सार्वजनिक भएसँगै स्थानीय तहमा चर्को बहस सुरु भएको छ । घूस लिएको आरोप निजगढ नगरपालिकामा कार्यरत लेखा अधिकृत शिवप्रसाद देवकोटा र भौतिक तथा पूर्वाधार शाखाका इन्जिनियर रूपेश यादवमाथि लागेको हो ।
चितवनको भरतपुरस्थित एसएस वाटर ट्युबवेल कन्स्ट्रक्सन एन्ड सर्भिस प्रालिका सञ्चालक राजेश कार्कीले सम्पन्न कामको भुक्तानी दिन कर्मचारीहरूले घूस मागेको दाबी गरेका छन् ।
उनका अनुसार, काम सकिएपछि बिल पास र अन्तिम भुक्तानीका लागि सुरुमा १२ लाख रुपैयाँ माग गरिएको थियो, जुन लामो बार्गेनिङपछि ६ लाखमा झरेको थियो । तर घूस बुझाइसकेपछि पनि भुक्तानी रोकिएको भन्दै उनले दुःखेसो पोखेका छन् ।
नगर कार्यपालिका सदस्य शर्मिला विकका अनुसार ठेकेदार कार्कीले आफूलाई भेटेर लेखा अधिकृत देवकोटा र इन्जिनियर यादवलाई नगद ६ लाख रुपैयाँ घूस दिएको स्पष्ट बताएका थिए । यही गुनासो आएपछि उनले आरोपित कर्मचारीलाई घूस नलिन वा लिएको भए तुरुन्त फिर्ता गर्न आग्रह गरेको बताइन् ।
साथै, सामाजिक सञ्जाल फेसबुकमार्फत रकम फिर्ता नगरे अडियो र फोटो सार्वजनिक गर्ने चेतावनीसहित स्टाटस पोस्ट गरेपछि विषय थप चर्चामा आएको हो । यस प्रकरणलाई लिएर गत पुस ३० गते निजगढ नगर कार्यपालिकाको आकस्मिक बैठकले वडा अध्यक्ष विशन सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ, जसमा नगरपालिकाका एक कर्मचारी पनि सदस्य छन् । उक्त ठेक्कासम्बन्धी काम आर्थिक वर्ष २०८०/८१ मा निजगढ नगरपालिका २ मा दुई वटा, वडा नं. ३ र ९ मा एक एक गरी चार वटा डीप बोरिङ निर्माणसँग सम्बन्धित रहेको छ ।
नगरपालिकाले भ्याटसहित १ करोड १२ लाख रुपैयाँको लागत अनुमानमा विद्युतीय बोलपत्र आह्वान गरेको थियो । कम्पनीले करिब ३३ प्रतिशत घटाघट गर्दै करिब ७४ लाख ९३ हजार रुपैयाँमा ठेक्का पाएको र सम्झौता अनुसार काम सम्पन्न गरेको कम्पनीका प्रतिनिधि सुरज काफ्लेले बताए ।
उनका अनुसार, गत असार मसान्तमा करिब ३० लाख रुपैयाँ भुक्तानी भएपनि बाँकी अन्तिम रकम हालसम्म खातामा नआएको कारण ठेकेदार कार्की पटक पटक नगरपालिकामा धाइरहेका थिए ।
काफ्लेले भने, आफ्नो जानकारी र सहमति विना भुक्तानी लिन खोजिएको थाहा पाएपछि आफूले कर्मचारीलाई रकम नदिन चेतावनी दिएको र आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने अडान लिएको बताए ।
यता, करार सेवामा कार्यरत इन्जिनियर अशोक कुशवाहाले भने प्रारम्भिक लागत अनुमान आफूले तयार गरेपनि स्थलगत अनुगमन र नापजाँच नगरी बिल पास गर्न अस्वीकार गरेपछि फाइल आफ्नो जानकारी बिना अघि बढाइएको दाबी गरेका छन् । आफूलाई हेप्ने उद्देश्यले प्रकरणमा तान्न खोजिएको उनको भनाइ छ ।
घटनाले नयाँ मोड लिँदै जाँदा ठेकेदार कार्कीले भने हाल आफूले कुनै घूस नदिएको दाबी गर्न थालेका छन् । उनका अनुसार, उनले कार्यपालिका सदस्य विकसँग समस्या राखे पनि घूस दिएको विषयमा केही नबताएको बताएका छन् । तर विकका अनुसार, कर्मचारी जोगाउन ठेकेदारमाथि दबाब परेपछि उनले बयान फेरेको आशंका छ ।
यसैबीच, कम्पनीका सञ्चालक कार्की र कार्यस्थलमा अख्तियारी पाएका सुरज काफ्लेबिच ६ लाख रुपैयाँको हिसाब नमिल्दा घूस प्रकरण बाहिर आएको काफ्लेको दाबी छ ।
विकले भने, ठेकेदारले कर्मचारीलाई घूस दिएको स्वीकार गरेको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको बताउँदै छानबिन समिति नाममा घटना दबाउन नहुने भन्दै सार्वजनिक सुनुवाइको माग गरेकी छन् ।
उक्त घूस रकम कोल्हवी र चन्द्रनिगाहपुरबाट संकलन गरी कर्मचारीले पठाएको एक व्यक्तिमार्फत बुझिएको स्रोतको दाबी छ । तर आरोपित लेखा अधिकृत देवकोटा र इन्जिनियर यादवले भने आफूहरूले कुनै घूस नलिएको भन्दै सबै आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन् ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको र दोषी देखिए कानुनअनुसार कारबाही गरिने बताए ।




