सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टीको नेतृत्व सम्हालेपछि थापाले विगतमा निर्वाचन जित्दै आएको काठमाडौं क्षेत्र छाडेर मधेसको निर्वाचन क्षेत्र रोज्नु राजनीतिक वृत्तमा चासोका रूपमा हेरिएको छ ।
देशकै सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसका नव-निर्वाचित सभापति थापाको यो निर्णयलाई संगठन विस्तार र मधेससँग प्रत्यक्ष राजनीतिक सम्बन्ध सुदृढ गर्ने रणनीतिसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
सर्लाही ४ कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिँदै आएपनि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ कांग्रेसले पराजय बेहोरेको थियो । उक्त निर्वाचनमा कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह २० हजार १७ मतसहित विजयी भएका थिए भने कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्रकुमार यादव १८ हजार २५२ मतसहित दोस्रो स्थानमा सीमित भएका थिए ।
त्यसबेला कांग्रेस उम्मेदवार यादवलाई माओवादी केन्द्रसहित पाँच दलको समर्थन रहेको थियो । गठबन्धनको सहयोग हुँदा हुँदै पनि उनी सिंहसँग १ हजार ७६५ मतको अन्तरले पराजित भएका थिए । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । उनी हालै मात्र नेकपा परित्याग गरेका शिवपुजन रायकी छोरी हुन् ।
परम्परागत रूपमा कांग्रेसको बलियो आधार क्षेत्र मानिने सर्लाही ४ मा यस पटकको निर्वाचन थप रोचक बन्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार मात्रै पार्टी प्रवेश गरेका डा. अमरेश कुमार सिंहलाई उम्मेदवार बनाउने तयारी थालेको छ ।
यसैबीच, २०७९ कै निर्वाचनमा सर्लाही ४ (क) बाट नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । गगन थापाको उम्मेदवारी घोषणासँगै सर्लाही ४ को राजनीतिक प्रतिस्पर्धा अझ रोचक हुने संकेत देखिएको छ ।




