वीरगंज । वीरगंजको मुख्य सडक फराकिलो पार्ने सन्दर्भमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन । गत आइतबार यस बारे सुनवाइ भएको र सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपनि सो मुद्दालाई फुल बेन्चबाट फैसला गर्ने आदेश जारी गरेको बताइएको छ ।
वीरगंजको मुख्य सडकको अतिक्रमण हटाउने सन्दर्भमा यसअघि सर्वोच्च अदालतले गत फागुन २८ गते सो सम्बन्धमा परेका मुद्दाहरू खारेज गरेको थियो । तर अदालतबाट पूर्ण पाठ अहिलेसम्म आएको छैन ।
सर्वोच्चबाट पूर्ण पाठ आउन कम्तीमा ६ महिना समय लाग्ने भएको र यस बीचमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाइएपछि पूर्ण पाठ आउन सकेको छैन ।
यसैबीचमा शिवप्रसाद कलवारसहितका मुख्य सडकका वासीहरूले सर्वोच्चमा अन्तरिम आदेशका लागि निवेदन दर्ता गराएका थिए । हेटौंडाको हकमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले वीरगंजको हकमा भने फुल बेन्चमा आदेशका लागि पठाएको छ ।
वीरगंजको मुख्य सडकको मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन अवस्थामा छ । सडक विभागले २५/२५ मिटर दायाँ र बायाँ खाली गर्नका लागि तीन दशकदेखि जारी गर्दै आएको सूचना तत्कालीन अवस्थामा राजनीतिक दबाबका कारण रोकिंदै आएको थियो ।
तर ६ वर्षअघि सडकले यस विषयमा अन्तिम सूचना जारी गरेपछि मुख्य सडकका केही बासिन्दाहरूले सर्वोच्चमा निवेदन दिएका थिए र यस विषयमा गत फागुन २८ गते अदालतले निवेदकहरूको मागदाबीलाई खारेज गरेको थियो ।




