काठमाडौं । विशेष अदालत, काठमाडौंमा दर्ता भएको गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेश भएका महोत्तरी जिल्ला बर्दिवास नगरपालिका ६ निवासी जीविराज पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
नेपाल सरकार वादी र राम बाबु महतो (कोइरी) प्रतिवादी रहेको उक्त मूल मुद्दामा सरकारी साक्षी पोखरेलले अदालतमा दिएको बयान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानसँग व्यहोरा तथा तथ्यगत रूपमा फरक र प्रतिकूल रहेको ठहर गर्दै आयोगले थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा पोखरेलले धनुषा जिल्लाको हरिहरपुर नगरपालिका १ स्थित सावित्री पोखरेलको नाममा रहेको कित्ता नं. २६१५ र १६०१ को जग्गा २०७२ माघ ११ गते प्रतिवादी राम बाबु महतोकी श्रीमती माला कुमारी महतोको नाममा पास गर्दा रु २५ लाख मात्र देखाई थैली अंक राखिएको तर वास्तविक कारोवार मूल्य रु ५२ लाख २३ हजार रहेको खुलेको आयोगले जनाएको छ ।
पोखरेलले जग्गा बिक्री बापत प्राप्त गरेको रु ५२ लाख २३ हजार रकम आफ्नै बैंक खातामा जम्मा भएको स्पष्ट प्रमाण भेटिएपछि उनलाई सुरुमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो ।
तर, उनले विशेष अदालतमा २०८२ भदौ १५ गते दिएको बयान आयोगमा दिएको बयान विपरीत रहेको पुष्टि भएपछि, पोखरेलले रु २७ लाख २३ हजार रकम लुकाई छिपाई आपसी मिलेमतोमा मूल प्रतिवादी राम बाबु महतोले गरेको गैरकानूनी सम्पत्ति आर्जनमा सहयोग पुर्याएको ठहर गरिएको छ ।
यस आधारमा पोखरेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ अनुसार बिगो रु २७ लाख २३ हजार कायम गरी जरिवाना तथा कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।




