वीरगन्ज । मोटरसाइकल चोरीमा संलग्न गिरोहका तीन जनालाई पर्सा प्रहरीले बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका तीनै जना १९ वर्षका युवा रहेका छन् ।
पक्राउ परेकाहरुमा वीरगन्ज महानगरपालिका १३ श्रीपुरका १९ वर्षीय साहिलकुमार रौनियार र १९ वर्षीय श्यामबाबु ठाकुर तथा भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगन्ज १३ बस्ने १९ वर्षीय रोशनकुमार गुप्ता छन् । उनीहरुको साथबाट चोरीको मोटरसाइकल समेत बरामद गरिएको छ ।
माघ ५ गते बेलुका साढे ८ बजे वीरगन्ज १३ राधेमाईस्थित सडकमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले साहिलकुमार रौनियारलाई शंकास्पद रूपमा मोटरसाइकल डोर्याई लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उक्त मोटरसाइकल जाँच तथा उनको शरीर खानतलासी गर्दा मोटरसाइकलमा पछाडिपट्टी नम्बर प्लेट नरहेको, साँचो नरहेको, अगाडिको तारहरु काटिएको र अगाडिपट्टी बिआर ०५ एक्यु ६९२४ भारतीय नम्बर प्लेटको मोटरसाइकल फेला परेको थियो ।
प्रहरीको सोधपुछपछि रौनियारले आफूले उक्त मोटरसाइकल अन्य दुई साथीहरुसँग मिली वीरगन्ज १३ दृष्टि आँखा अस्पताल क्षेत्रबाट रातिको समयमा चोरी गरेको र ठाकुरको कोठामा लुकाइराखेको स्वीकारेका थिए ।
प्रहरीले उनीहरुबाट थप दुई गरी तीन वटा चोरीको मोटरसाइकल बरामद गरेको जनाएको छ । उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।




