धनुषा । धनुषाधाम नगरपालिका ६ हरिपुरस्थित खेतमा जङ्गली जनावरबाट बाली जोगाउन लगाइएको विद्युतीय बारमा करेन्ट लागेर बिहिबार एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले मृत्यु हुनेमा हरिपुरका करिव ५० वर्षीय चन्देश्वर महतो रहेको बताए ।
उनका अनुसार जङ्गली जनावरबाट बाली जोगाउने उद्देश्यले खेत वरिपरि विद्युतीय बार जडान गरिएको थियो । सोही विद्युतीय बारमा करेन्ट प्रवाह भइरहेका बेला महतो सम्पर्कमा आउँदा मृत्यु प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरी निरीक्षक केसीले घटनास्थलमा करेन्ट लागेर एउटा बाँदर पनि मृत अवस्थामा फेला परेको जानकारी दिए । उनले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको बताए ।




