सप्तरी । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीन जना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन् ।
तीन जना राष्ट्रिय अध्यक्ष सप्तरीबाट उम्मेदवार बन्दा यहाँको चुनावी सरगर्मी बढेको मतदाताहरु बताउँछन् । यसअघि २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत र जसपा नेपालकाका अध्यक्ष यादव आमने सामने हुँदा यादव डा. राउतसँग दोब्बर मतान्तरले पराजित भएका थिए ।
विगतको तितो अनुभवबाट पाठ सिक्दै यस पालिको निर्वाचनमा यादव र डा. राउत दुवै राष्ट्रिय अध्यक्ष फरक क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन् । जेनजी आन्दोलन अघिसम्म डा. राउतसँगै जनमत पार्टीका प्रवक्ता समेत रहेका डा. शरतसिंह यादव अहिले जनअधिकार पार्टी गठन गरी डा. राउतसँगै सप्तरी २ बाट चुनाव लड्नुलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ ।
चार वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा विभिन्न दल र स्वतन्त्र गरी १०२ जनाको उम्मेदवारी कायम रहेको छ । क्षेत्र नम्बर १ मा नयाँ र पुरानाबिच कडा टक्कर हुने देखिएको छ ।
नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेका युवा नेता ई. सुमित साह, जनमत पार्टीका तर्फबाट डा. जयकान्त राउत, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, एमालेका नेता सुमनराज प्याकुरेल, रास्वपाकी पुष्पा चौधरी मुख्य प्रतिस्पर्धीको रुपमा देखीएका छन् । यस क्षेत्रमा यसअघिको निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साह विजयी भएका थिए ।
क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. राउत २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । अघिल्लो निर्वाचनमा उनकै पार्टीबाट यस क्षेत्रमा प्रदेश सभा सदस्यमा जितेर मुख्यमन्त्री समेत भइसकेका सतिष कुमार सिंह नयाँ दल स्वभिमान पार्टीबाट यसै क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
साथै जनमत पार्टी छाडेर जनअधिकार पार्टी खोलेका राष्ट्रिय अध्यक्ष शरतसिंह यादव पनि यसै क्षेत्रबाट उम्मेदवारी दिँदा डा. राउतलाई जित निकाल्न सहज नहुने देखिन्छ । २०५६ पछि सप्तरी २ मा दोहरिएर कसैले पनि चुनाव नजितेकाले पनि डा. राउत बलियो भएपनि धेरै मिहिनेत गर्नुपर्ने अवस्था विद्यमान छ ।
यस क्षेत्रबाट रास्वपाका युवा नेता रामजी यादव, जसपा नेपालबाट पूर्व मन्त्री उमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जिल्ला उपसभापती रामकुमार यादव, नेपाल जनता पार्टीबाट पूर्व प्रतिनिधि सभा सदस्य एवम् महामन्त्री रञ्जु ठाकुर, राष्ट्रिय मुक्ति पार्टीबाट पूर्व मन्त्री अनिस अन्सारी, नेकपाबाट सूर्यनाथ यादव, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी पनि प्रतिस्पर्धामा देखिएका छन् ।
सप्तरी क्षेत्र नम्बर ३ मा एमालेबाट ताराकान्त चौधरी र उनका भतिजा अमरकान्त चौधरी रास्वपाबाट उम्मेदवार बनेका छन् । काका–भतिजा आमने सामने भएपछि चुनावमा रोचक प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरुको तर्क छ । यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका दिनेश कुमार यादवले ताराकान्त चौधरीलाई हराउँदै जित निकालेका थिए । यो चुनावमा पनि कांग्रेसको तर्फबाट यादव चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै यस क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी मैदानमा भएकाले रोचक प्रतिस्पर्धा हुने देखिन्छ । पहिलो पटक यस क्षेत्रबाट उम्मेदवारी दिएका यादवले जित निकाल्ने दाउमा रहेका छन् भने कांग्रेसका यादव, एमालेका चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल र रास्वपाका अमरकान्त चौधरीबिच मुख्य प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ ।
क्षेत्र नम्बर ४ मा तीन पटकको विजेता कांग्रेसका पूर्वमन्त्री तेजुलाल चौधरी पुनः चुनावी मैदानमा उत्रिएका छन् । चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा रहेका उनलाई कांग्रेसका पुराना नेता सिताराम साह पार्टी परित्याग गरेर रास्वपाबाट उम्मेदारी दिएका कारण चुनौती थपिएको स्थानीयको भनाइ छ ।
यहाँबाट जसपा नेपालकी महिला नेतृ डा. बबी सिंह यादव, नेकपा एमालेबाट बालकृष्ण चौधरी र नेकपाबाट रुवी कर्ण पनि चुनावी मैदानमा रहेकाले नयाँ र पुराना उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरु बताउँछन् ।




