सर्लाही । सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेदिक औषधालयमा उपचाररत १८ वर्षीया हंसु पासवानको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । घटनापछि आफन्तहरूले औषधालयमा आगजनी गर्ने प्रयास गरेका थिए ।
लालबन्दी २ पुनर्वास टोलकी हंसु पासवानलाई पाइल्सको समस्याका कारण रक्तस्राव भएपछि उपचारका लागि औषधालयमा ल्याइएको थियो । उपचारको क्रममा उनको स्वास्थ्य अवस्था असामान्य भएपछि उनलाई बाहिर पठाइएको थियो । त्यसपछि उनलाई नमूना अस्पताल हरिवन पुर्याइँदा साँझ करिब ४ बजे चिकित्सकले मृत घोषणा गरे ।
हंसुको मृत्यु र उपचारमा लापरबाही भएको आशङ्काका कारण आक्रोशित स्थानीयहरूले नवलपुरमा प्रदर्शन गरेका थिए र औषधालयमा आगजनीको प्रयाससमेत गरेका थिए । घटनापछि नवलपुर क्षेत्रमा केही समय तनाव व्याप्त रह्यो ।
प्रहरीले शव प्रादेशिक अस्पताल मलंगवातर्फ पोष्टमार्टमका लागि पठाएको छ । मोहन आयुर्वेदिक औषधालयका वैद्य रामविनय साहलाई नियन्त्रणमा लिइएको छ । नवलपुरको स्थिति विस्तारै सामान्य बन्दै गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले जानकारी दिएका छन् ।




