बारा । बारा जिल्लाको साविक भतौडा गाविस हाल कलैया उपमहानगर ३ मा रहेको किता नम्बर २८८ को क्षेत्रफल पाँच कट्ठा एक धुरमध्ये किता नम्बर २९० को जग्गा खरीद बिक्रीमा लाखौंको राजस्व हिनामिना भएको भन्दै तत्कालीन वडाध्यक्षसहित तीन जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कलैया उपमहानगरपालिका ३ का अध्यक्ष जलालुद्दीन मन्सुरी, वडासचिव रघुनाथ सहनी गोढ तथा जग्गा दलाल रौफ मन्सुरीमाथि राजस्व छली गरेको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । उनीहरूले गरेको सिफारिशबाट राज्यलाई ६ लाख ९४ हजार ६५१ रुपैयाँ घाटा भएको अख्तियारको ठहर छ ।
अख्तियारको पत्र अनुसार २०७४/०७/२६ गते जग्गा खरीद बिक्री भएको देखिन्छ । सो जग्गा कलैया–वीरगंज हुलाकी सडकसँग जोडिए पनि वडाध्यक्षको टोलीले जग्गा दलालसँग मिलेमतो गरी सो जग्गामा कुनै बाटोघाटो नरहेको भनेर सिफारिश गरी नापीमा पठाएको थियो ।
तर पछि उजूरी पर्दा नापी कार्यालय, मालपोत कार्यालय र हालको वडा कार्यालयले सर्जमिन मुचुल्का उठाइ प्रतिवेदन तयार गरेर अख्तियारमा पठाउँदा सो जग्गामा कालोपत्र रहेको प्रतिवेदनको आधारमा उनीहरूविरुद्ध आज मुद्दा दायर भएको हो ।
सो जग्गा सिसहनिया चोकदेखि उत्तरतर्फ पर्छ । उतिबेला सो जग्गाको मूल्य प्रतिकट्ठा रु ७ लाख ५४ हजार रहेको थियो । सो जग्गामा रहेको पुरानो घरसहित रु ९९ लाखमा बिक्री हुनुपर्ने जग्गा सोही बेला रु ४४ लाखमा बिक्री गरी राजस्व छली भएको भन्दै अख्तियारमा उजूरी परेको थियो । तर अख्तियारले यो मुद्दाको छिनोफानो गरेर ८ वर्षपछि मुद्दा दायर गरेको हो ।




