रौतहट । रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि सोमबार कार्यालय परिसरमै कुटपिट भएको छ । नगरपालिका परिसरमा रहेकी लामालाई वडा नम्बर १ का स्थानीय महिलाहरुको समूहले कुटपिट र दुर्व्यवहार गरेका हुन् ।
कुटपिट र दुर्व्यवहार गर्नुको कुनै कारण नरहेको र अनाहकमा आफूलाई सुनियोजित ढङ्गले आक्रमण गरिएको बताउँदै गुजरा नगरपालिकाका नगर उपप्रमुख लामाले नगर प्रमुख सन्तलाल प्रसाद चौधरीको इशारामा आक्रमण भएको आरोप लगाइन् ।
नगरपालिका परिसरमा कुटपिट अघि गुजरा नगरपालिका वडा नं. १ र ९ को सिमाना पर्ने लमाहा खोलामा नगर उपप्रमुख लामा चढेको प्रदेश २–०३–००१ झ ००२१ नम्बरको गाडि रोकेर स्थानीयले तोडफोड गरेका थिए ।
घटना सम्बन्धमा नगरप्रमुख चौधरीले किसानले समयमा मलखाद्य नपाएका कारण आक्रोशित किसानले नगर उपप्रमुखलाई दुर्व्यवहार गरेको बताउँदै यस घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिए ।




