महोत्तरी । गौशाला नगरपालिका अन्तर्गत पर्ने मरहा नदीमा स्थानीय तहकै संरक्षणमा अवैध नदीजन्य पदार्थ उत्खनन् तीव्र रूपमा बढ्दै गएको छ । कानुनी रूपमा नदी उत्खननका लागि ठेक्का प्रक्रिया अनिवार्य भएपनि ठेक्का नलागेको खोलामा क्रसर उद्योग सञ्चालकहरूले रातिको समयमा गहिरो खाल्डा खनेर अवैध उत्खनन् गरिरहेको पाइएको छ ।
स्थानीयका अनुसार राजनीतिक दल र सुरक्षा निकाय निर्वाचन तयारीमा व्यस्त रहेका बेला क्रसर सञ्चालकहरूले यही अवसरको फाइदा उठाउँदै रातभरि नदी दोहन गरिरहेका छन् । मरहा नदीको बीचभागमै टिपर डुब्ने गरी खाल्डा खनिएको छ भने खाल्डोमै टिपर राखेर जेसीबीमार्फत बालुवा, गिट्टी निकाल्ने काम भइरहेको छ ।
नदीबाट उत्खनन् गरिएका सामग्री किनारमै रहेका क्रसर उद्योगमा भण्डारण गरिएपछि ती वस्तुहरू वैधजस्तै देखिने अवस्था बनेको स्थानीयको भनाइ छ । मरहा नदी आसपास सञ्चालित क्रसर उद्योगहरूले जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलाई आर्थिक प्रलोभनमा पारेर रातिको समयमा खुलेआम अवैध उत्खनन् गरिरहेको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीयका अनुसार सोमबार राति गौशाला नगरपालिकाका केही जनप्रतिनिधिलाई प्रभावमा पारेर रातभर उत्खनन् गरिएको हो । अवैध उत्खननको विरोध गर्नेहरूलाई क्रसर सञ्चालकहरूले धम्की, कुटपिट गर्ने गरेको र जनप्रतिनिधि नै प्रलोभनमा पर्ने भएकाले खुलेर विरोध गर्न नसकिएको स्थानीयको गुनासो छ ।
गौशाला बजारसँग जोडिएको उक्त नदी क्षेत्र नजिकै इलाका प्रहरी कार्यालय, उत्खनन स्थलबाट करिब तीन किलोमिटर दूरीमा सशस्त्र प्रहरी बलको कार्यालय र नजिकै नगरपालिकाको कार्यालय रहे पनि रातभर भइरहेको अवैध उत्खनन् रोक्न सम्बन्धित निकाय प्रभावकारी रूपमा सक्रिय देखिएका छैनन् । उत्खनन् भइरहेको सूचना प्रायः दिउँसो मात्रै प्राप्त हुने गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले अवैध उत्खनन् गर्नेहरूविरुद्ध कारबाही गरिएको दाबी गर्दै रातिको समयमा लुकीछिपी उत्खनन् गर्ने भएकाले सूचना पाउने बित्तिकै प्रहरी पुगे पनि संलग्न व्यक्ति फरार हुने गरेको बताए ।
त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मरहा नदीको अवैध उत्खननबारे जानकारी आएको जनाउँदै घटना बारे तत्काल छानबिन अघि बढाइने बताए ।




