वीरगंज । वीरगंज महानगरपालिका २१ लिपनीबिर्ता, परवानीपुरमा रहेको सनप्लाई उद्योगमा मंगलबार आगलागी भएको छ । विजयश्री लेमिनेट प्रालिले प्लाइउड बनाउने क्रममा ब्वाइलर च्याम्बर पड्किएर आगलागी भएको हो ।
उद्योगका प्रतिनिधिले आगलागी भएको जानकारी प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । आगलागीपछि घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि सुरक्षाकर्मी र वारुणयन्त्रलाई धौधौ परेको थियो ।
आगलागीबाट प्रारम्भिक अनुमान अनुसार ७० लाख मूल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ । बारा र पर्साका वारुणयन्त्र तथा सुरक्षाकर्मीहरूको सक्रियतामा तीन घण्टापछि आगो नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।






