महोत्तरी । महोत्तरीमा मोटर साइकल लुटपाट र चोरी घटनामा संलग्न तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरीको गौशाला नगरपालिका १२ प्रडियामा मोटरसाइकल र मोबाइल लुटपाट घटनामा संलग्न तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका १२ बस्ने १८ वर्षीय निर्मल साह सोनार, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष राम रहेका छन् । उनीहरु मोटरसाइकल र एक थान मोबाइल फोन लुटी फरार भएका थिए ।
बुधबार राति करिव साढे ८ बजे गौशाला १२ का स्थायी बासिन्दा विषेश्वर सिंह कुशवाहा ज ५ प ४३२४ नम्बरको डिस्कोभर मोटरसाइकलमा घर फर्किंदै गर्दा सुनसान स्थानमा यी तीनै जना युवाहरुले बाटो छेकी मोटरसाइकल रोकेर पछाडिबाट फलामको रड प्रहार गरेका थिए ।
अचानक भएको आक्रमणबाट कुशवाहा गम्भीर घाइते भई सडकमा बेहोस भए ढल्नु भएको थियो । आक्रमणपछि लुटेराहरूले कुशवाहाको मोटरसाइकल र एक थान मोबाइल फोन लुटी फरार भएका थिए ।
घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय गौशाला मातहत प्रहरी चौकी कान्तिबजार तथा इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको संयुक्त प्रहरी टोलीले खोज तलास सुरु गरेको थियो ।
खोज तलासका क्रममा बिहिबार गौशाला नगरपालिका १२ र सर्लाही जिल्लाको सिमानामा रहेको जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमाा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते कुशवाहाको उपचार भइरहेको छ ।




