रौतहट । यमुनामाई गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयलाई लिएर विवाद चर्किएको छ । गाउँपालिका प्रमुख महमद सउदले कविराज रामश्रेष्ठ (राय यादव) लाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने क्रममा किर्ते तथा जालसाजी गरेको आरोप लागेपछि विवाद सतहमा आएको हो ।
गाउँपालिका प्रमुख सउदको हस्ताक्षर रहेको कविराज रामश्रेष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस बारे व्यापक चासो पैदा भएको छ । सार्वजनिक पत्रमा प्रयोग गरिएको चलानी नम्बर दोहोरिएको र उक्त पत्र किर्ते भएको आरोप लगाइएको छ ।
यस विषयमा प्रतिक्रिया दिँदै यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिलप्रसाद पालले उक्त पत्रहरू पूर्ण रूपमा किर्ते भएको दाबी गरेका छन् । उनका अनुसार पत्रमा उल्लेख गरिएको चलानी नम्बर यसअघि नै कार्यालयको अन्य आधिकारिक पत्रमा प्रयोग भइसकेको अभिलेखबाट पुष्टि भएको छ ।
सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको उनले बताए । हालसम्म यस प्रकरणमा सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान सुरु नभएको पनि पालले बताए । यता, गाउँपालिका प्रमुख महमद सउदले भने किर्ते सिफारिस र अवैध बैठक सम्बन्धी आरोप अस्वीकार गरेका छन् ।
उनले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार र मित्थ्या भएको दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृत पाललाई आमने सामने छलफलका लागि चुनौती दिएका छन् ।




