जनकपुरधाम । मधेश प्रदेश नेपालकै सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यही कारण यहाँको चुनाव सधैँ संख्याले होइन, सूक्ष्म गणनाले तय हुन्छ । हजार मतभन्दा कमको अन्तरले सत्ता उल्टिन सक्ने यो प्रदेशमा हरेक निर्वाचन ‘हाई–स्टेक्स’ प्रतिस्पर्धामा रूपान्तरण हुन्छ ।
मतदाता संख्या ठूलो भएपनि उनीहरूको राजनीतिक व्यवहार स्थिर छैन । दल प्रतिको निष्ठाभन्दा उम्मेदवारको छवि, स्थानीय मुद्दा र क्षणिक असन्तुष्टिले मतदाताको निर्णय निर्धारण गर्छ । त्यसमाथि उम्मेदवारहरूको बारम्बार हुने दल परिवर्तनले मधेशको चुनावी राजनीति अझै अनिश्चित र रोचक बनाउँदै आएको छ । यो निर्वाचन पनि त्यसको अपवाद छैन ।
झिनो मतान्तरको इतिहास
२०७९ को निर्वाचन मधेशका धेरै क्षेत्रमा केही सय मतले मात्र निर्णय भएको थियो । धनुषा २ र ४, सर्लाही ३, बारा २ र पर्सा ३ मा हजारभन्दा कमको मतान्तरले हार जित तय भयो । यही प्रवृत्तिले यस पटक अझ धेरै क्षेत्रमा प्रतिस्पर्धा झन् पेचिलो हुने संकेत गरिरहेको छ ।
धनुषा २ : १५७ मतले उल्टिएको राजनीति
धनुषा निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशकै सबैभन्दा झिनो मतान्तरको उदाहरण दिएको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका रामकृष्ण यादव र एमालेका उमाशंकर अरगरिया बीच भएको प्रतिस्पर्धा केवल १५७ मतले टुंगिएको थियो ।
परिणाम अदालतसम्म पुगेको यो क्षेत्र यस पटक पनि राजनीतिक चासोको केन्द्रमा छ । यस पटक कांग्रेसले उम्मेदवार परिवर्तन गर्दै दिनेशप्रसाद यादव परसैला अघि सारेको छ । एमालेबाट पुनः अरगरिया र जसपा नेपालबाट पशुपति यादव मैदानमा छन् । तीन दाबीदार बीचको प्रतिस्पर्धाले धनुषा २ लाई पुनः ‘स्विङ कन्स्टिचुएन्सी’ बनाएको छ ।
धनुषा ४ : १२४ मतको झड्का अझै ताजा
धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठ र कांग्रेसका महेन्द्र यादवबीचको प्रतिस्पर्धा मधेशको ‘हाईप्रोफाइल’ चुनावमध्ये एक हो । २०७९ मा महासेठ १२४ मतको झिनो अन्तरले विजयी भए । यो मतान्तर आज पनि दुबै उम्मेदवारका लागि चेतावनी बनेको छ । यस पटक पनि उही दुई अनुहार मैदानमा छन् । पार्टी संगठन बलियो भएपनि मतदाता विभाजनको जोखिमले दुबैलाई सहजता दिएको छैन ।
सर्लाही ३ : हेभिवेटको आगमनले बदलिएको समीकरण
सर्लाही ३ अघिल्लो निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती र माओवादी केन्द्रका नरेन्द्र साह कलवार बीचको कडा प्रतिस्पर्धाबाट चिनिएको क्षेत्र हो । ७७० मतको अन्तरले टुंगिएको यो क्षेत्रमा यस पटक राष्ट्रिय राजनीतिका अनुभवी खेलाडी नारायणकाजी श्रेष्ठ प्रवेश गरेका छन् ।
नारायणकाजीको उम्मेदवारीपछि कलवारले दल परिवर्तन गरेका छन् । उप्रेती, कलवार र नारायणकाजीबीचको त्रिपक्षीय प्रतिस्पर्धाले यो क्षेत्रलाई मधेशकै सबैभन्दा अनिश्चित निर्वाचन क्षेत्रमा बदलिदिएको छ ।
बारा २ : उपराष्ट्रपतिपछि घटेको चासो
बारा २ ले २०७९ पछि राष्ट्रिय ध्यान तानेको क्षेत्र हो । यहाँबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भयो । जसपा अध्यक्ष उपेन्द्र यादवले सो चुनाव जितेपनि त्यसपछि यो क्षेत्र राजनीतिक रूपमा अपेक्षाकृत शान्त देखिएको छ । यस पटक उपेन्द्र यादव सप्तरी ३ सरेका छन् ।
बारा २ मा जसपाबाट रामकिशोर यादव उम्मेदवार छन् भने शिवचन्द्रप्रसाद कुशवाह फेरि दल बदलेर मैदानमा छन् । तर, अघिल्लो पटकजस्तो उत्साह र प्रतिस्पर्धाको चमक यो क्षेत्रमा देखिएको छैन ।
पर्सा ३ : १६७ मतले मन्त्री, जेल र ड्रपआउट
पर्सा ३ ले मधेशको चुनावी जोखिम र राजनीतिक उतारचढाव दुवै देखाएको छ । एमालेका राजकुमार गुप्ता १६७ मतको झिनो अन्तरले विजयी भए, मन्त्री बने, तर पछि भ्रष्टाचार मुद्दामा जेल चलान भए ।
यस पटक एमालेले नयाँ अनुहार रुपेशकुमार पाण्डेयलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने पुरानै उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी मैदानमा छन् । मतान्तर सानो हुने इतिहासले यहाँ पनि नतिजा अन्तिम क्षणसम्म खुला रहने संकेत गर्छ ।
सानो मतान्तर, ठूलो सन्देश
मधेशका यी निर्वाचन क्षेत्रहरूले एउटा स्पष्ट सन्देश दिन्छन्- यहाँ दलभन्दा मतदाता निर्णायक छन् । मतदाताको असन्तुष्टि, उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय मुद्दा र दल परिवर्तनको राजनीतिले हजारौँ मतदाता भएको क्षेत्रमा पनि केही सय मतले सत्ता उल्टाइदिन्छ । यही कारण मधेशको चुनाव सधैँ गणनाको खेल मात्र होइन, मनोविज्ञानको लडाइँ पनि हुन्छ ।




